विराटनगर । बुढिगंगा नागरिक समाजले गाउँपालिकाबाट भइरहेको अनियमितता र गलत क्रियाकलापहरु तत्काल रोक्न माग गरेको छ । बिहीबार नागरिक समाजले गाउँपालिकामा ज्ञापन पत्र बुझाउँदै गाउँपालिकाको तर्फबाट भएका सृङ्खलावद्ध गलत क्रियाकलापहरुको बारेमा जवाफ माग गर्दै यस प्रकारको क्रियाकला रोक्न भनेको छ ।
पिसिआर परीक्षणमा अनियमितता गरेको र उद्योगसँग लिएको पिसिआर परीक्षणको रकमसमेत मिलेमतोमा गायब पारेको तर्फ पनि ध्यानाकर्षण भएको नागरिक समाजले जनाएको छ ।
नागरिक समाजको तर्फबाट कोरोना कहरमा पालिकाले गरेको काम र त्यस क्रममा भएको खर्च पारदर्शी नभएको भन्दै छानविन गरी तथ्य सार्वजनिक गर्न माग गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुबल्लभ बराललाई बुझाइएको ज्ञापन पत्रमा बुढीगंगा स्थित आरती स्ट्रिप्ससँग जनप्रतिनिधिले नै पिसिआर वापतको रकम बुझेको, स्वस्तिक जुट मिल र प्रिमियर वायर्ससँग त्यस वापत रकम प्रस्ताव गरेको भन्ने समाचारहरुबाट यस क्रममा ठूलो आर्थिक चलखेल भएको मा नागरिक समाजले पनि प्रश्न उठाएको छ ।
यस अघि राहत वितरण र क्वारेन्टाइन व्यवस्थापनमा समेत अनियमितता गरेको गाउँपालिकाले पिसिआर परीक्षणका क्रममा गरेको अनियमितताको विषयमा उद्योगका सञ्चालक तथा जिम्मेवार कर्मचारीहरुले नै नागरिक समाजलाई खुलेर बताइरहेकोले आर्थिक अनियमितता गरेको स्पष्ट हुने भन्दै समाजका अध्यक्ष राधा आचार्यले तथ्य स्पष्ट नगरे अख्यितार लगायत राज्यका निकायहरुमा मुद्दा हाल्ने जानकारीसमेत गराएका छन् ।
पिसिआर परीक्षण वापत जनु उद्योगसँग शूल्क लिएर गाउँपालिकाले आम्दानी बाँधेन त्यही उद्योगका उपाध्यक्षलाई गाउँपालिकामा ल्याएर जबरजस्ती आफ्नो व्यहोराको विज्ञप्ति तयार पारेर सार्वजनिक गर्नुले पनि गाउँपालिकाबाट भएको बदमासी उजागर हुने नागरिक जसमाजले दावी गरेको छ । ज्ञापन पत्रमा भनिएको छ ‘विज्ञप्तिमा अश्विनीकुमारको पद मेनेजेर लेखिएको छ तर उनी उपाध्यक्ष हुन्, विज्ञप्ति लेटरप्याडमा छैन त्यसैले गाउँपालिकाले जबरजस्ति उक्त विज्ञप्तिमा सही गर्न लगाएको स्पष्छ हुन्छ ।’
सुरुमा कुनै पनि उद्योगका मजदुरहरुको पिसिआर नगरेको बताएको गाउँपालिकाले विज्ञप्तिमा भने गाउँपालिकाले पिपिई र भिटिएम खरिद गर्न लगाएको बताउनुले पनि कुराहरु बाझिन गएको भन्दै त्यसबारेमा स्पष्ट पार्न नागरिक समाजले माग गरेको छ ।
नागरिक समाजले विकास निर्माणमा आफन्तहरुलाई उपभोक्ता समितिमा राख्ने र कमसल निर्माण कार्य गर्ने गरेकोप्रति पनि प्रश्न उठाएको छ । गाउँपालिकाले कतिपय सडक बनाउँदै नबनाई कागज मात्र तयार पारेर रकम दुरुपयोग गरेको भन्दै समाजले छानविनको माग गरेको छ ।
यस्तै गाउँपालिकाबाट करार सेवामा कर्मचारी नियुक्ति गर्दा प्रतिष्पर्धाबाट योग्यलाई छान्नु भन्दा नातागोता, भाइ, छोरा, श्रीमति, भतिजा भतिजी आदिलाई नियुक्ति दिएको भन्दै गलत प्रकृयाबाट भएका नियुक्ति खारेज गर्न पनि माग गरेको छ ।
गाउँपालिकाले सार्वजनिक जग्गा अनियमितरुपमा सम्झौता गरी उद्योगलाई प्रयोग गर्न दिएको घरनक्सा पास गर्दा कमिशन लिने काम भइरहेको र राजश्व भन्दा बढी रकम लिएरसमेत भ्रष्टाचार गर्ने प्रवृत्ति बढेको भन्दै तत्काल त्यस्ता कार्य रोक्न माग गर्दै नागरिक समाजले अन्यथा मुद्दाको प्रकृयामा जाने चेतावनी दिएको हो ।
बुढिगंगा नागरिक समाजले बिहीबार बिहानै ज्ञापन पत्र बुझाउन गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी र उपाध्यक्षसमेतलाई ज्ञापन पत्र बुझाउन समय माग्न दर्जनौं पटक मोवाइलमा सम्पर्क गर्दा फोन नउठाएपछि प्रमुख प्रशासकीय अधिकृत डमरुबल्लभ बराललाई ज्ञापत्र पत्र बुझाएको जनाएको छ । त्यस क्रममा बरालले गाउँपालिकाको तर्फबाट पिसिआर परीक्षण गर्दा उद्योगसँग पैसा नलिएको बरु पत्रकारले फटाई गरेको भन्दै कुनै अनियमितान नभएकोमा विश्वस्त रहन नागरिक समाजलाई आग्रह गर्नुभएको थियो । हाम्रोमतबाट साभार