दुहबी/ सुनसरीको दुहबीमा जारी दोस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको बिहिवार भएको दोस्रो सेमिफाइनल खेलमा इटहरी फुटबल क्लब उपाधी नजीक फाइनलमा प्रवेश गरेको छ।
आयोजक मेमोरी युवा क्लब सोनापुर सुनसरीलाई २-० गोल अन्तरले पछि पार्दै इटहरी फुटबल क्लब सुनसरी दोस्रो सोनापुरको फाइनलमा स्थान सुरक्षित गरेको हो। खेलको चौथो मिनेटमा इटहरी फुटबल क्लब सुनसरीका खेलाडी समीर राईले १ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । दुवै टिमबाट प्रतिस्पर्धामक एवं आक्रमक खेल भएपनि दोस्रो हाफपछिको खेलको अतिरिक्त समयको छैटौं मिनेटमा इटहरी फुटबल क्लबका खेलाडी समीर राईले थप १ गोल गर्दै आफ्नो टिमको बिजय सुनिस्चित गराए। खेलको उत्कृष्ट खेलाडी इटहरी फुटबल क्लबका खेलाडी समीर राई घोषित भए। उनलाई दुहबी वडा नम्बर २ का वडाअध्यक्ष अरबिन्द बिश्वासले नगद २५ सय तथा मेडल प्रदान गरे।
शनिबार हुने फाइनल खेल दमक फुटबल एकेडेमी झापा र इटहरी फुटबल क्लब सुनसरीका बिच हुने आयोजक क्लबका अध्यक्ष खडगनारायण माझीले जनाए। फाइनल खेलमा प्रथम हुने टिमले उपाधी सहित २ लाख नगद तथा ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद १ लाख तथा ट्रफी पाउने जनाइएको छ ।







