काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीसँग प्रधानमन्त्री पदबाट राजीनामा दिन माग गरेका छन् । पार्टीभित्रको विवाद सुल्झाउने र शुक्रबारको स्थायी कमिटी बैठक सुरु गर्ने विषयमा सहमति जुटाउने प्रयासका लागि बिहीबार तीन शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो ।
सोही छलफलमा अध्यक्ष दाहाल र नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिन ओलीलाई सुझाएका हुन् । स्रोतका अनुसार ओलीले पनि दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याएका छन् । दुवै समूहले आ–आफ्ना अडान कायम राखेपछि छलफल निष्कर्षविहीन भएको छ ।
आजको छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । महासचिव पौडेलले छलफल भए पनि कुनै निष्कर्ष ननिस्केको बताए । उनका अनुसार शुक्रबारको स्थायी कमिटी बैठक स्थगित नगर्ने सहमति पनि छलफलमा भएको छ ।
मंगलबार र बुधबार ओलीसँग भएको छलफलमा विवाद समाधानमा ठोस सहमति नभएपछि बिहीबार दाहालले नेपाललाई पनि छलफलका लागि लगेका थिए । दाहाल र नेपाल बालुवाटार जानुअघि दाहाल निवास खुमलटारमा यस समूहका सचिवालयका ६ नेताको बैठक भएको थियो ।
बैठकमा सहभागी एक नेताका अनुसार खुमलटारमा भएको सहमतिअनुसार दाहाल र नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिन ओली आग्रह गर्ने र नदिने अडान दोहोर्याए थप कदम चाल्ने जानकारी दिने सहमति भएको थियो ।
एजेन्डा र प्रधानमन्त्रीको राजीनामाको विषयमा नेकपामा अहिले दाहाल र नेपाल एउटै समूहमा छन् ।
१० असारबाट जारी स्थायी कमिटी बैठकमा दाहाल र नेपालले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् । प्रधानमन्त्री ओलीले कुनै पनि पद नछाड्ने अडान दोहोर्यारहेका छन् ।
बुधबार दाहालसँगको छलफलमा पनि प्रधानमन्त्री ओलीको यही अडान थियो । बरु उनले चाँडो महाधिवेशन गरेर पार्टीको एकल नेतृत्व लिन आग्रह दाहाललाई प्रस्ताव गरेका थिए । तर, दाहाल–नेपाल समूह तत्काल ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने पक्षमा छन् ।