असार २३, प्रदेश नं १ मा प्रदेश सरकारको नाममा रहेको ११ बिघा १४ कठ्ठा जमिनमा मानवसेवा ग्राम बन्ने भएको छ । मोरङको ग्रामथान गाउँपालिका वडा नं ६ मा रहेको जमिनमा प्रदेश नं १ सामाजिक विकास मन्त्रालयको प्रमुख अभिभावकत्व र मानवसेवा आश्रमको व्यवस्थापन एवं सन्चालनमा मानवसेवा ग्रामको निर्माण गरिने भएको हो ।
प्रदेश नं १ सामाजिक विकास मन्त्री जीवन घिमिरे,राज्यमन्त्री जसमाया गजमेर, सचिव गोविन्द बहादुर कार्की, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका राज्यमन्त्री विजय बिश्वास, मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, महासचिव शुसिला केसी (रुपा),प्रदेश नं १ संयोजक नवराज केसी सहित मानवसेवा आश्रमका अभिभावक र सामाजिक विकास मन्त्रालयका कर्मचारीहरुको उपस्थितिमा सोमबार भएको बिचारबिमर्ष पश्चात उक्त जमिनमा निर्माण हुने मानवसेवा आश्रमको भौतिक संरचना, ज्येष्ठ नागरिक ग्राम, ज्येष्ठ नागरिक मनोरन्जन केन्द्र सहित विभिन्न आकर्षक पार्कहरुसहितको क्षेत्रको नाम “मानवसेवा ग्राम” नामाकरण गर्ने निर्णय भएको हो ।
मानवसेवा ग्राम अन्तर्गत बन्न लागेको मानवसेवा आश्रमको भौतिक संरचना निर्माणको लागि २०७७ असार २९ गते सोमबार बिहान ८:०० बजे भवननिर्माण शिलान्यास गर्ने र प्रदेश नं १ लाई छिट्टै नै सहयोगापेक्षी (बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन) सडकआश्रित मानवमुक्त प्रदेश बनाउनका लागि स्थानीय निकायको साथ, सहयोग र अभिभावकत्वमा उद्दार एवं पारिवारिक सेवाकार्यलाई तिब्रता दिने निर्णय भएको छ । मानवसेवा आश्रम र सडकमानवहरुको क्षेत्रमा सेवारत संघसंस्थाहरुसँगको समन्वयमा प्रदेश १ मा सडकआश्रितहरुलाई उद्दार गरि सडक मानवमुक्त बनाउने अभियानमा सरकार अघि बढेको मन्त्री जिबन घिमिरेले बताए।
साथै आर्थिक बर्ष २०७७/०७८ मा मानवसेवा ग्राम अन्तर्गत बन्न लागेको मानवसेवा आश्रमको भवनको निर्माणको लागि १ करोड र ज्येष्ठ नागरिक ग्रामको लागि २ करोड बजेट बिनियोजन भएको मन्त्री घिमिरेले स्पष्ट पारे। मानवसेवा आश्रमसहित पूर्ण मानवसेवा ग्रामको निर्माणको लागि सरकारका तिनवटै तह, परोपकारी उदारमना व्यक्तिहरु एवं संघसंस्थाको साथ र सहयोग रहेको अवस्थामा प्रदेश नं १ लाई नै छिट्टै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त निर्माण गर्न सकिने कुरामा मानवसेवा आश्रम र सामाजिक विकास मन्त्रालय प्रतिबद्द रहेको समेत उनले बताएका छन् ।
मानवसेवा आश्रमको वि.स २०८२ सालसम्म देशलाई नै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त निर्माण गर्ने महाअभियानलाई सार्थक बनाउन प्रदेश १ सरकारले देखाएको चासो र बिश्वासको लागि प्रदेश १ सरकार र विशेष गरि सामाजिकविकास मन्त्रालयप्रति आश्रम कृतज्ञ रहेको जनाइएको छ।
मानवसेवा आश्रमको बिराटनगर शाखाले सेवा सुरुवात भएपश्चात ८९ जनाको उद्दार गरिसकेको छ जसमध्ये २५ जनाको पारिवारिक पुनर्मिलन, ६ जनाको मृत्य, ९ जनाले स्वेच्छाले आश्रम छोड्नुभएको छ भने अहिले आश्रममा ४९ जना आश्रित हुनुहुन्छ । त्यसै गरि सातै प्रदेशको १४ जिल्ला र १९ सेवाकेन्द्रहरुमा गरि १२०० जना सहयोगापेक्षीको उद्दार गरि आश्रमको छानामुनी राखेर लौरी स्वरुपको साहरा बनेर सेवा प्रदान गरिरहेको छ ।





