काठमाडौं / निषेधाज्ञा खुकुलो भएसगैँ कोरोना संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले पुनः स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने सीसीएमसीको हिजो बसेको सिंहदरबारको बैठकमा मन्त्रालयले कोरोना संक्रमण बढेको रिपोर्टसँगै स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो ।
सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले बैठकपछि बैठकमा मन्त्रालयले स्मार्ट लकडाउनको सिफारिस गरेको बताएका छन् उनका अनुसार अब बस्ने बैठकले स्मार्ट लकडाउन गर्ने नगर्नेबारे टुंगो लगाउनेछ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबारको निर्देशक समितिको बैठकमा स्मार्ट लकडाउन प्रस्ताव गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता निर्देशक समिति बैठक बसेको थियो।
‘जहाँ संक्रमण बढी छ, सम्बन्धित जिल्ला वा स्थानीय तहले नै लकडाउन गर्न सक्ने अवधारणाको प्रस्ताव सीसीएमसीले गरेको छ’, सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले भने। वैज्ञानिक र व्यावहारिक हुने गरी लकडाउन गर्ने अवधारणा नै स्मार्ट लकडाउन रहेको उनले स्पष्ट पारे।
अहिलेसम्म हुँदै आएका लकडाउन जिल्ला प्रशासन कार्यालयमार्फत नै गर्दै आएको भए पनि केन्द्रको नियन्त्रण रहँदै आएको छ। अब हुने लकडाउनमा जिल्लाले स्वयं अवस्था हेरेर निर्णय गर्न सक्छ। स्मार्ट लकडाउनको अवधारणाअनुसार जहाँ कोरोना संक्रमण बढ्छ, त्यहाँ लकडाउन हुन्छ, जहाँ घट्छ, खुला हुँदै जान्छ।