दुहबी / सुनसरीको दुहबीमा कालाबजारी रोक्न अनुगमन समितिकि संयोजकलाई स्थानीय युवाहरुले १२ घन्टे अल्टिमेटम दिएको छ। दुहबी नगरभित्र रहेका बजार तथा विभिन्न वडाको चौकहरुमा स्थानीय व्यापारीले आफू खुशी खाद्यान्न लगायतमा मुल्य वृद्धि गरि आम उपभोक्ताहरुलाई ठगि गरि काला बजारी गरेको भन्दै १० दिन देखि स्थानीयको जन गुनासो ब्याप्त रहेको थियो।
व्याप्त जनगुनासो बढेपछि केही दिन अगाडि दुहबीका केही युवाहरु दुहबी नगर प्रमुख वेदनारायण गच्छदारलाई भेटि ध्यानाकर्षण गराउदा मेयर गच्छदारले अनुगमन समिति लाई तत्काल अनुगमन गर्न ठाडो निर्देशन दिंदा समेत हाल सम्म कुनै काम कार्वाही अगाडि नबढेको भन्दै विभिन्न संचार माध्यमबाट समाचार सम्प्रेषण हुंदा समेत दुहबी नगर अनुगमन समितिले वेवास्ता गरेको भन्दै दुहबीका युवा समुहले आईतबार दुहबी नगरपालिकाकि उप प्रमुख तथा अनुगमन समितिकि संयोजक सुनिता दाहालसाह लाई लिखित रुपमा १२ घन्टे अल्टिमेटम पत्र बुझाएको हो ।
सो अल्टिमेटम पत्रमा उल्लेख भए अनुसार १२ घन्टा भित्र अनुगमन गरी काला बजारी नरोकिए उपभोक्ता ऐन अनुसार युवाहरुलेनै अनुगमन गर्ने चेतावनी समेत दिएको सो पत्रमा उल्लेख रहेको छ।
निषेधाज्ञाको बहानामा दुहबी र आसपासका उद्योगी र थोक व्यापारीहरुले खाद्य सामाग्री लगायतको कृत्रिम अभाव सिर्जना गरेको स्थानीयहरुको गुनासो छ। उपभोक्ताबाट आफूखुशी मूल्य लिन कृत्रिम अभाव खडा गरिएको स्थानीयहरु बताउँछन्।
उद्योगी र थोक व्यापारीले खानेतेल लगायतमा मूल्य बढाएर बेच्दा उपभोक्ता महँगीको मारमा परेका छन्। अनुगमन गर्ने जिम्मा पाएको स्थानीय तह र जिल्ला प्रशासन कार्यालय मौन बसेको उपभोक्ताको जन गुनासो छ।
स्थानीय युबाहरुको अल्टिमेटम पत्र बुझ्दै दुहबी नगरपालिकाकि उपप्रमुख तथा अनुगमन समितिकि संयोजक सुनिता दाहालसाहले चाडैं आवश्यक अनुगमन गर्ने बताइन्।





