विराटनगर / मोरङको बूढीगङ्गा गाउँपालिकामा रहेको आरती स्ट्रिप्सका सञ्चालकले मजदुरलाई कुटपिट गरेका छन् । भारतीय औद्योगिक घराना भूषण पावर एण्ड स्टिलका माकिल सञ्जय सिङ्घलले मोरङमा आएर मजदुर कुटपिट गरेका हुन्
भूषण पावरले मोरङको बूढीगङ्गा गाउँपालिकालमा आरती स्ट्रिप्स इन्ड्रस्टिज सञ्चालन गरिरहेको छ । केही दिनअघि उद्योगमा आएका सिङ्घलले कारखानामा कार्यरत भारतीय मजदुर नगेन्द्रकुमार गुप्तामाथि कुटपिट गरेका हुन् । भारत छाड्ने अनुमति नपाएका सिङ्घलले आइतबार दिउँसो गुप्तामाथि कुटपिट गरेका हुन् । गुप्ता आरती स्ट्रिप्सका टेक्निकल प्रमुख हुन् ।
भारतको मोतिहारी घर भएका उनी सन् २००९ देखि आरतीमा कार्यरत छन् । ‘ममाथि बिनाकारण एक्कासी कुटपिट भयो,’ उनले भने, ‘यत्रो वर्ष आफ्नै घर सम्झिएर काम गरेँ, अन्याय भएपछि सहेर बस्न सकिनँ ।’
गुप्ताले आफूमाथि कुटपिट भएपछि सिङ्घलविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएका छन् । उनले श्रम कार्यालय विराटनगरमा पनि उजुरी दिएका छन् ।
कुटपिटमा संलग्न सिङ्घल भने सोमबार बिहान भारत प्रवेश गरेका छन् । सिङ्घललाई भारतीय प्रशासनले देश नछाड्ने आदेश दिएको थियो । ‘मनी लाउन्ड्री’ मुद्दा परेका कारण देश नछाड्न भनेको छ । तर उनी जोगवनी हुँदै विराटनगर आएका थिए । प्रहरीमा उजुरी परेपछि निजी गाडी छाडेर उनी भारत प्रवेश गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले अभद्र व्यवहार भएको भन्दै सिङ्घलविरुद्ध जाहेरी परेको बताए । प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको उनले बताए । कोशि अनलाईन बाट साभार