ईनरुवा / सुनसरीको देवानगञ्ज गाउँपालिका–३ साविक घुस्की-४ मा पारिवारिक जग्गा विवादले उग्र रूप लिँदा छोराले आफ्नै बुवाको हत्या गरेका छन्।
स्थानीय ३५ वर्षीय रियाज अन्सारीले ६५ वर्षीय बुवा सबिब अन्सारीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ। लामो समयदेखि जग्गाको स्वामित्व र अंशबन्डा विषयमा विवाद चलिरहेको पारिवारिक स्रोतले बताएको छ।
बुधबार बिहान विवाद चर्किएपछि रियाजले छुरा प्रहार गर्दा गम्भीर घाइते भएका सबिब अन्सारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक कमल बिष्टले जानकारी दिए।
घटनापछि रियाज अन्सारीलाई नियन्त्रणमा लिइएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि बिराटनगरस्थित कोशी अस्पतालमा पठाइएको छ।
.





