सुनसरी/ सुनसरीको दुहबीमा जारी तेस्रो मेयरकप फुटबल प्रतियोगिताको उपाधी दुहबी वडा नम्बर ७ ले हाथ पारेको छ।
उपाधी सहित दुहबी वडा नम्बर ७ ले १ लाख १ हजार नगद तथा शिल्ड,मेडल प्रमाणपत्र प्राप्त गरेको छ। आज भएको फाइनल खेलमा दुहबी वडा नम्बर १० लाई १-० गोल अन्तरले पछि पार्दै दुहबी ७ बिजेता बनेको हो। मेयरकपको उपबिजेता दुहबी वडा नम्बर १० ले ५१ हजार नगद तथा शिल्ड,मेडल प्रमाणपत्र प्राप्त गरेको छ। खेलको मध्यान्तर सम्म दुबै तर्फबाट अत्यन्तै प्रतिस्प्रर्धात्मक खेल भएपनि कसैले गोल लगाउन सकेको थिएन। खेलको मध्यान्तर पछिको २० औं मिनेटमा दुहबी वडा नम्बर ७ का खेलाडी सेवन ऋषिदेबले १ गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित गरेका थिए। खेलको म्यान अफ द म्याच दुहबी वडा नम्बर ७ का खेलाडी सेवन ऋषिदेब भए। उनले नगद ५ हजार सहित मेडल प्राप्त गरे।
खेलको समापन कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले खेलाडी तिमी अगि बढ दुहबी नगरपालिका तिम्रो साथमा छ भन्दै खेलाडीहरुलाई हौंसला प्रदान गरेका थिए। मेयर गच्छदारले दुहबीमा फुटबल प्रतियोगिताकोलागि रंगशाला निर्माणमा ३ करोड बढीको काम सम्पन्न भइसकेको जानकारी दिदैं २२ करोडको बहुवर्षिय रंगशाला निर्माणको योजनामा अझै १ करोडको ठेक्का समेत लागीसकेको जनाए । युबाहरुलाई फुटबल प्रती आकर्षित गराउन दुहबीमा फुटबल एकेडेमीकोलागि ५ बिगाह जग्गा लिइसकेको जानकारी गराउदैं मेयर गच्छदारले अखिल नेपाल फुटबल संघसंग चाडै सम्झौता गरिने जनाएका छन् । मेयर गच्छदारले नगरपालिका स्तरीय फुटबल लिग संचालन दुहबीमा प्रशीक्षक ल्याउनुका साथै खेलाडीहरुको स्वास्थयको पूरा जिम्मेवारी दुहबी नगरपालिकाले लिने समेत जनाए । फाइनल खेलको उत्कृष्ट गोल रक्षक दुहबी वडा नम्बर ७ का गोल रक्षक रबिन चौधरी भए। उनले नगद ५ हजार सहित ट्रफी प्राप्त गरे भने खेलमा बेस्ट डिफेन्स दुहबी ७ का खेलाडी सुरज माझी भए। उनले नगद ५ हजार सहित ट्रफी प्राप्त
गरे । खेलको बेस्ट मिड फिल्डर दुहबी वडा नम्बर १० का खेलाडी आशिस चौधरी भए। उनले नगद ५ हजार सहित ट्रफी प्राप्त गरे । प्रतियोगिताभरीको सर्बाधीक गोलकर्ता दुहबी वडा नम्बर ७ का खेलाडी दिलिप चौधरीले नगद ५ हजार ट्रफी प्राप्त गरे । मेयर कपको समापन कार्यक्रममा दुहबी नगरपालिकाकी उपमेयर सुनिता दाहाल शाह, अखिल नेपाल फुटबल संघका उपाध्यक्ष किशोर राइले शुभकामना मनतब्य दिदैं फुटबल खेलबाट खेलाडी हरुलाई रोजगारमुखी बनाउनुपर्नेमा जोड दिएका थिए। दुहबी नगरपालिकाको आयोजना तथा एलेभेन एरोज क्लब दुहबीको संयोजनमा मेयर कप फुटबल प्रतियोगिता भएको थियो।https://kochilakhabar.com/feature/3184/ 





