काठमाडौँ– खेत-रोपाइँसँगै प्रकृति र कुलदेवतालाई परिकारहरु विधिवत चढाउदै प्रसादको रुपमा तिथि अनुसार भदौ महिनाको १ गते पूर्वका थारु समुदाय पूर्वका थारु समुदायले भदौ महिनाको पहिलो आइतबार ‘रैब पर्व’ मनाउँदैछन्।
तिथि अनुसार आइतबारलाई पूर्वीया थारु भाषामा ‘रैब दिन’ वा रैब पर्व भन्ने गरिन्छ। उक्त दिन घरमा दही,दूध, चिउरा,चिनी, जेरी,फलफुल आदि खाने गर्दछन्। थारु भाषामा आईतवारलाई रैब भन्ने गरेकोले यो पर्व रैब हुन गएको मानिन्छ।
आईतवारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले आईतवार सो पर्व मनाउने गरिएको थारु संस्कृति विद भुलाइ चौधरी बताउँछन्। उनका अनुसार खेत-रोपाइँसँगै विश्राम लिने महिना भदौ भएकाले एक दिन दही,च्यूरा खाएर पर्व मनाउने प्रचलन रहेको छ।
उनी भन्छन्, ‘यस बर्षको भदौमा पाँच आइतवार रहेको छ। थारु समुदाय प्रकृति पूजक र कृषिमा आधारित जाति भएकाले यसलाइ परापूर्वकालदेखि नै मनाउँदै आएका छौ खासगरी दहि च्यूरा खाएर।तर अहिले त समय अनुसार जेरी-पुरी, फलफूल थपिएको छ।’
धार्मिक मान्यता अनुसार पर्वको दिन नुन, तेल खाए पर्व भंग हुने र कुलदेवता रिसाउने मान्यता रहिआएको छ। पर्वमा थारुहरुले बिहानै नजिकैको तलाऊ,पोखरी वा खोलामा स्नानगरी प्रकृति र कुलदेवतालाई परिकारहरु विधिवत चढाउँदै प्रसादको रुपमा खाने गर्दछन् ।
खेतिपाती रोपाई सकेपछि मनाउने यस पर्व खेती रोपाईको क्रममा कृषकले नुन र तेल बढी खाने गरेको हुँदा प्रेसर बढ्ने भएकोले एक दिन नुन र तेल नखाई गुलियो खानेकुरा खादा प्रेसरमा सन्तुलन आउने विश्वास गरिन्छ।
त्यसैगरी रोपाईको क्रममा शारीरिक परिश्रम बढी गर्नुपर्दा त्यसको भरण पोसनका लागि दही, दूध खाँदा शरीर बलियो हुने र फेरि खेतीको काममा जुटन सहज हुने थारु महिला समाजकी अध्यक्ष गीतदेवी चौधरी बताउँछिन्।
यसैगरी धार्मिक मान्यता अनुसार बाल-बच्चालाई सुस्वास्थ्यको कामना गर्नुको साथै कृषिजन्य उत्पादनमा बृद्धिको लागि समयमा वर्षा होस, बाली-नालीमा रोग/व्याधी नलागोस् भन्ने कामना गर्दै यो पर्व मनाइने चलन रहँदै आएको थारु अगुवा सियाराम चौधरी बताउँछन्।
पर्वको एक दिन अगाडि बिषहैरको डाली पनि उठाउने प्रचलन रहेको छ।पर्वको भोलिपल्ट विबिषहैर पूजा गर्दै रैब पर्व र विषहैरको समापन गरिन्छ। महिलाहरु सामुहिक रुपमा टोलका प्रत्येक घरधुरीबाट डाली संकलन गर्दै नदी, तलाउ, पोखरीमा सम्पन्न गर्ने परम्परा छ।
सर्प, बिच्छि वा कुनै बिसालु जनावरले दुःख नदियोस भन्दै नाग देवताको प्रतिमुर्ति बनाएर सो बिषहैर पुजा गरेर प्रसाद ग्रहण गर्दै पर्व समपन्न गरिन्छ।