दुहबी / तराई क्षेत्रमा समुदायमा आजदेखि पवित्र जितिया पर्व सुरु भएको छ ।
जितिया पर्व नहाखा (नुहाएर खानु) गर्दै धार्मिक विधिअनुसार सुरु भएको हो ।
आज व्रत बस्नुअघि महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।
ब्रत सुरु भएको भोलिपल्ट बिहान चार बजेदेखि निराहार एवं निर्जला व्रत बसी पर्सिपल्ट बिहान व्रत सम्पन्न हुने चलन छ । सयौं ब्रतालु नदी तथा पवित्र पोखरीहरु, सरोवर र नदीमा स्नान गरेर जिमुतवाहनको कथा सुन्ने गर्दछन् । उक्त कथा बुढापाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ ।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ ।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ ।





