सुनसरीको दुहबी नगरपालिकाको स्वामित्वमा रहेको ११ कठ्ठा १३ धुर जग्गा चौधरी ग्रुप (सिजी)को नाममा पास भएको पाइएको छ।
दुहबी-५ मा रहेको सरकारी जग्गा चौधरी ग्रुपले कौडीकै भाउमा आजभन्दा तीस वर्षअगाडि आफ्नो नाममा ल्याएको खुलेको हो।
वि.सं. २०५० चैत २३ गते तत्कालीन दुहबी आदर्श गाविसको नाममा रहेको जग्गा अर्बपति विनोद चौधरी नेतृत्वको सिजी ग्रुपको नाममा कौडीको भाउमा राजीनामा पास भएको पाइएको हो।
तत्कालीन दुहबी आदर्श गाविसले निर्माणाधीन अस्पतालको भवनसहित दुहबी बजारनजिकै रहेको ११ कठ्ठा १३ धुर जग्गा विनोदका भाइ वसन्त चौधरीको नाममा ५० हजार रुपैयाँमा पास गरिदिएको थियो।
तत्कालीन जनप्रतिनिधिसहित ७० जनाको रोहबरमा त्यसबेलाको दुहबी गाविस वडा नम्बर ७ मा रहेको कित्ता नम्बर १९ को नौ कठ्ठा आठ धुर जग्गा ५० हजार रुपैयाँमा र निर्माणका क्रममा रहेको एकतले भवन ५० हजार रुपैयाँ गरी एक लाख रुपैयाँमा चौधरी ग्रुपको नाममा पास भएको हो।
त्यसबाहेक सोही वडाको कित्ता नम्बर १७ को एक कठ्ठा र १८ नम्बर कित्ताको एक कठ्ठा पाँच धुर जग्गा पनि गाविसले अस्पताल सञ्चालनका लागि चौधरीलाई हस्तान्तरण गरेको थियो। १७ र १८ नम्बर कित्ताको जग्गाको मोल भने उल्लेख छैन।
वसन्त चौधरीले लुनकरणदास-गंगादेवी चौधरी च्यारिटी हस्पिटल खोल्न भन्दै दुहबी गाविसका तत्कालीन गाविस अध्यक्ष धर्मनारायण विश्वास र उपाध्यक्ष गौरीशंकर रौनियार र नौवटा वडाका वडा सदस्यले स्थानीय ७० जनाको रोहबरमा उद्योगपति वसन्त चौधरीको नाममा पास गरिदिएका थिए।
चौधरी दाजुभाइले आफ्ना बुवा लुनकरण दास र आमा गंगादेवी चौधरीको स्मृतिमा स्थानीयलाई स्वास्थ्योपचारमा सहयोग गर्ने भन्दै अस्पताल बनाउने प्रयोजनका लागि गाविसबाट जग्गा आफ्नो नाममा सारेका थिए। त्यसका लागि २०४९ साल वैशाखमा चौधरी ग्रुपले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष अस्पतालको परियोजना पेस गरेका थिए।
सोही वर्ष चैत ४ गते कोइरालाले अस्पताल सञ्चालन गर्न अनुमति दिएका थिए। सोहीअनुरूप २०५० साल माघ ७ गते चौधरीले गाविस अध्यक्षसहित ७० जनालाई आफ्नो प्रभावमा पारी गाविसको जग्गा आफ्नो स्वामित्वमा लिएको स्थायीय अवधनारायण झा बताएका थिए ।
वसन्तबाट अस्पताल निर्माणको रेखदेख गर्ने जिम्मा पाएका उनले भनेका थिए , ‘पहिले गाविसले अस्पताल बनाउँदै थियो, पछि उहाँहरू आएर आफ्नो बुवा-आमाको नाम राख्ने अडान लिनुभयो। बुवा-आमाको नाम ट्रस्ट चलाउँछु भनेर उहाँले तत्कालीन जनप्रतिनिधिहरूलाई प्रभावमा पारी जग्गा आफ्नो नाममा सार्नुभयो र निजी बनाउनु भयो। पछि किनेको भनेर कागज बनाएको सुनेको थिएँ। त्यही पनि ५० हजारमा मात्र। अरू दुइटा कित्ताको जग्गा पनि उहाँले पाउनु भएको थियो। त्यसको हिसाबकिताब छैन।’
उनका अनुसार त्यसअघि नै गाविसले सो जग्गामा अस्पतालका लागि भवन बनाउँदै थियो। निर्माणाधीन अवस्थामै उक्त भवन र भवन भएको नौ कठ्ठा आठ धुर जग्गाको स्मावित्व चौधरीले लिएका थिए। दुहबीमा आफ्नो आमा-बुवाको नाममा अस्पताल खोल्ने इच्छा गरेको चौधरी ग्रुपले त्यो भवनको निर्माण नसक्दै शक्तिको आडमा जग्गा नै आफ्नो नाममा सारेको झा बताउँछन्।
२०४९ साल चैत ४ गते गाविसका ११ जनप्रतिनिधिसहितको बैठकले चौधरी ग्रुपलाई जग्गा र निर्माणाधीन अवस्थामा अलपत्र परेको भवन हस्तान्तरण गरी अस्पताल सञ्चालनका लागि अनुमति दिएको थियो।
‘दुहबी आदर्श वडा नम्बर ७ को (ख) कित्ता नम्बर १७, १८, १९ मा निर्माणाधीन अवस्थामा रहेको अधुरो अस्पताल भवन गाविसको आर्थिक अवस्थाको कारण पूरा हुन नसकेकोले उक्त अधुरो भवनमा चौधरी ग्रुपका उद्योगपति एवम् समाजसेवी वसन्त चौधरीले आफ्नो निजी स्रोतमा अधुरो अस्पताल पूरा गरी लुनकरणदास-गंगादेवीचौधरी च्यारिटी अस्पताल खोल्ने इच्छा गर्नुभएको हुँदा निर्माण कार्य पूरा गरी अस्पताल सञ्चालनसमेतको सम्पूर्ण दायित्व चौधरी ग्रुपमा रहनेगरी हस्तान्तरण गर्ने निर्णय गरियो,’ सम्झौता कागजातमा भनिएको छ।
२०४९ चैत ७ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अस्पतालका लागि चाहिने जग्गा र निर्माणाधीन भवन हस्तान्तरण गरेका थिए। थारू कल्याणकारी सभाको १४औं राष्ट्रिय अधिवेशनको उद्घाटन गर्न दुहबी आएका कोइरालाले वसन्त चौधरीलाई हस्तान्तरण गरी अस्पताल सञ्चालनको अनुमति दिएका थिए।
सो बेलासमेत दुहबी-विराटनगर औद्योगिक करिडरमा २०० बढी उद्योगहरू सञ्चालनमा रहेका थिए। कुनै औद्योगिक दुर्घटना हुँदा वा उद्योगमा काम गर्ने कुनै मजदुर वा श्रमिक अचानक बिरामी पर्दा उपचार गर्न विराटनगर नै पुग्नुपर्ने बाध्यता थियो। त्यस्तो बाध्यता अन्त्यको उद्देश्यले त्यसबेला च्यारिटी अस्पताल बनाइएको थियो।
२०५२ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शिलान्यास गरेको सो अस्पताल तत्कालीन युवराज दीपेन्द्र शाहले उद्घाटन गरेका थिए। १५ शय्या क्षमताको उक्त अस्पताल केही वर्ष सञ्चालनमा आएपछि बन्द भयो। पुनः धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सो अस्पताल चलायो। बिपीसँग दुईपटक मिलेर सञ्चालन गर्दा पनि आन्तरिक किचलोका कारण अस्पताल दीगो रूपमा सञ्चालनमा आउन सकेन।
फेरि पनि बन्द भएपछि दुहबी नगरपालिकाले अस्पताल सञ्चालनका लागि पटक पटक पहल गरिएका थिए । तर, बन्द अवस्थामा रहेको सो अस्पताल चौधरी ग्रुपले न त चलाउँछ न त अरूलाई चलाउन नै दिएको छ।
गाविसले बनाउँदै गरेको अस्पताल भवन तथा जग्गा चौधरी ग्रुपले आफ्नो स्वामित्व लियो, तर उसले निर्माण गरेको अस्पताल विगत पाँच वर्षयता बन्द छ। नगरपालिकाले लामो समययता बन्द रहेको अस्पताल सुचारू गर्नका लागि धेरै पटक पहल थालेको थियो।
तर वसन्त चौधरीले आफैं चलाउने भनी अडान कसिरहँदा दुहबी नगरपालिका निजी जग्गा भाडामा लिएर अस्पताल सञ्चालन गर्न बाध्य बनेको हो। कोभिड-१९ महामारीका बेला अरू अस्पतालमा बिरामी राख्ने ठाउँ नभएको अवस्थामा नगरपालिकाले सो च्यारिटी अस्पताललाई प्रयोग गर्ने योजना अगाडि सारेको थियो। त्यसका लागि नगरपालिकाले आफ्नो एउटा बेड लगेर राखेको पनि थियो।
तर चौधरी ग्रुपले बल प्रयोग गर्दै नगरपालिकालाई पछाडि सर्न बाध्य बनाउँदा जग्गा भाडामा लिएर अस्पताल बनाइएको दुहबी नगरप्रमुख वेदनारायण गच्छदारले बताएका थिए । ‘
हामीले उहिल्यैदेखि नै जग्गा पुनर्प्राप्तिका लागि कोसिस गरेका थियौं,’ उनले नवपथसँग भने, ‘तर त्यसबेला नै सरकारी जग्गा कौडीको भाउमा बेचिएकोले त्यसो हुन सकेन। हामीले आफैं अस्पताल सञ्चालन गर्छौं भनी पटक-पटक माग राख्दा पनि पाइएन।’
उनका अनुसार पछिल्लोपटक नगरपालिकाले २०७६ सालमा अस्पतालको स्वामित्व नगरपालिकालाई नै फिर्ता दिन चौधरीसँग प्रस्ताव राखेको थियो। काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल र वसन्त चौधरी फाउन्डेसनले संयुक्त रूपमा अस्पताल चलाउने आफूहरूको तयारी रहेको बताएपछि नगरपालिकाले जग्गा भाडामा लिएर अस्पताल बनाउनु परेको थियो।
‘त्यसबेला चौधरी ग्रुपलाई अस्पतालको स्वामित्व दिँदा हस्पिटल बन्द भएको खण्डमा अचल सम्पत्तिको स्वामित्व सम्बन्धित व्यक्तिलाई र अन्य इक्युपमेन्ट गाविसले लिने गरी सम्झौता भएको थियो,’ उनले भने, ‘तर त्यसो पनि भएन। हामीलाई कोभिड महामारीका बेला पनि सहयोग भएन।’
आफ्नो जग्गा चौधरी ग्रुपले लगेपछि नगरपालिकाले राष्ट्रिय वाणिज्य बैंकले लिलामी गरेको बन्द उद्योग भाडामा लिएर अस्पताल बनाएको छ।
धरान-विराटनगर सडकनजिकै दुहबी-८ स्थित जयकाली बिस्कुट उद्योगको बन्द गोदामलाई स्तरोन्नति गरी नगरपालिकाले नगर आधारभूत अस्पताल खोलेको हो।
उद्योगको गोदाम र तीन बिघा जग्गा वाणिज्य बैंकले लिलामी गरेर खाली गरेको थियो। वर्षौंअगाडि खाली भएको गोदामलाई ७० लाख रुपैयाँ खर्चेर अस्पताल बनाएको नगरपालिकाले अहिले वाणिज्य बैंकलाई मासिक रूपमा भाडा बुझाउँदै आएको बताइएको छ।
सुरूमा अस्थायी कोभिड अस्पतालबाट थालिएको सो अस्पताललाई अहिले नगर आधारभूत अस्पतालका रूपमा रूपान्तरण गरिएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत विन्देश्वरप्रसाद महतोले जानकारी दिएका थिए । उनका अनुसार २०७७ साल असोज १४ गते कोभिड महामारीलाई लक्षित गर्दै पाँच शय्याको सुविधासहित आइसोलेसनका नाममा थालिएको सो अस्पताललाई २०७८ साल जेठ ६ गते अस्थायी अस्पतालका रूपमा स्तरोन्नति गरिएको हो।
सो अस्पतालबाट अहिले दैनिक सैयो जनासम्मले सेवा लिने गरेको उनको भनाइ छ। ‘अर्काको नाममा रहेको एउटा जीर्ण गोदामलाई स्तरोन्नति गरेर अस्पताल चलाइरहेका छौं,’ उनले भने, ‘अब चाडै त्यहाँबाट स्थायी रूपमा आफ्नै जग्गामा बनेको सर्छौं।’
सरकारी खोपका कार्यक्रमबाहेक अरू कुनै पनि स्वास्थ्य लाभ स्थानीयले उठाउन सकेका छैनन्। एक जना हेल्थ असिस्टेन्ट र तीन सुरक्षा गार्डसहित पाँच जनाबाहेक अरू कर्मचारी पनि त्यहाँ छैनन्।
कुनै औद्योगिक दुर्घटना भएमा, उद्योगमा काम गर्ने कुनै मजदुर तथा श्रमिक अचानक बिरामी परेमा उपचार गर्न विराटनगर नै पुग्नुपर्ने बाध्यता हटाउने उद्देश्यका साथ स्थापना भए पनि पाँच वर्षयता पूर्ण रूपमा अस्पताल बन्द छ।
अब चाँडै नै अस्पताल सञ्चालनमा ल्याउने सिजी ग्रुप बताउँछ। नर्भिक इन्टरनेसनल हस्पिटल र वसन्त चौधरी फाउन्डेसनले संयुक्त रूपमा पाँच करोड रुपैयाँ लगानी गरेर सो अस्पताललाई स्तरोन्नति गर्दै पुनः सञ्चालनमा ल्याउने तयारी रहेको बताइएरहेका छन।
तर यस विषयमा छलफल चलिरहेको सिजी ग्रुपका प्रशासन प्रमुख भरत सिलवालले जानकारी दिएका थिए । उनले भनेका थिए नगरपालिकालाई स्वामित्व दिने वा नर्भिकसँगको समन्वयमा चलाउने भन्नेबारे छलफल भइरहेको छ। ‘हामीबीचमा छलफल भइरहेको छ,’ उनले भने, ‘नगरपालिकासँग पनि छलफल गर्ने योजना छ। जसरी हुन्छ चाँडोभन्दा चाँडो अस्पताल चलाउने योजना छ।’
उद्योगपति चौधरीको पूर्वमा पाँचवटा ठुला उद्योग छन्। केही सञ्चालनमा छन्, भने केही बन्द अवस्थामा छन्। पशुपति बिस्कुट फ्याक्ट्री, महालक्ष्मी मैदा मिल्स, सिजी सिड्स, सिजी फ्लेक्सिबल वायर गरी पाँच उद्याेगका मालिक हुन्, चौधरी। उनी नर्भिक अस्पतालका मालिकसमेत हुन्।





