५० लाख दाइजो नपाएको निहुँमा बिहे रद्द गर्न खोजेको आरोपमा दुहबीका अनुराग काठमाडाैंको बाट पक्राउ
दाइजोको निहुँमा बिहे रद्द गर्न खोज्दा दुहबीका एक बेहुला काठमाडाैंको पार्टी प्यालेसबाट पक्राउ परेका छन् ।
काठमाडौंको नक्सालबाट प्रहरीले एक जना बेहुलालाई पक्राउ गरेको हो ।
मंगलबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका–१ नक्सालस्थित एक पार्टी प्यालेसको मण्डपबाटै ती बेहुलालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए।
सुनसरी दुहवी नगरपालिका वडा नम्बर ५ स्थायी घर भई हाल काठमाडौं वडा नम्बर १३ ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी अमेरिकाको ग्रीनकार्ड प्राप्त व्यक्ति हुन्।
पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले मागेजति दाइजो नपाएको भन्दै बिहे रद्द गर्ने निर्णय गरेको एसपी रिजालले बताए। उक्त विषयमा दुई पक्षबीच विवाद समेत भएको थियो।
त्यसपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनाबारे बुझ्दा जन्तीलाई राम्ररी स्वागत नगरेको र ५० लाख रूपैयाँ दाइजो नपाएपछि बिहे नै रद्द गर्ने अडान लिएको खुलेको हो। बेहुलीलाई गाली बेइज्जती र हातपात समेत गरेको एसपी रिजालले बताए।
प्रहरी स्रोतका अनुसार बिहे खर्च बापत केटा पक्षले केटी पक्षबाट पटक-पटक गरी २२ लाख रूपैयाँ लिइसकेको खुलेको हो।
रौनियारलाई अहिले प्रहरी वृत्त मालिगाउँमा राखिएको छ। प्रहरीले रौनियारमाथि विवाह सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान गरिरहेको छ ।





