सुनसरी । सप्तकोशी नदिको कोशी व्यारेज पुलबाट करिब १५ किलोमिटर उत्तरमा रहेको सप्तकोशी नदीको पश्चिमी तटबन्ध भत्किएको छ। उदयपुरको बेलका नगरपालिका वडा- ८ लाउरे खोजदेखि करिब ५ सय मिटर दक्षिणमा सप्तकोशी नदीको वहाव उच्च हुँदा तटबन्ध भत्किएको हो ।
तटबन्ध भत्किएपछि गाउँहरु डुबानमा परेका छन् । बेलाका नगरपालिकाको वडा ३,८ र ९ मा पानी पसिरहेको बेलका नगरपालिकाका प्रवक्ता पदम खड्काले जानकारी दिनुभयो । प्रवक्ता खड्काका अनुसार सप्तकोसीको बाढीले बेलका नगरपालिका वडा-२ मा पनि पानी सम्भावना रहेको बताए । वहाँले सप्तरी जिल्लाको सप्तकोसी नगरपालिकाको पुर्वी भाग र सुनसरी जिल्लाको बराहक्षेत्रको पश्चिमी भाग बराहक्षेत्र नगरपालिका वडा ६ र ९ उच्च जोखिममा रहेको जानकारी दिए ।
बेलका नगरपालिका वडा- ९ का वडा अध्यक्ष तथा प्रवक्ता पदम खड्काले भने,’ तटबन्धन २० मिटर भत्किएको छ र कटान जारी रहेको छ । यसैगरी अवस्था रहयो भने दिनभरिमा ४० मिटर सम्म भत्किने सम्भावना छ । अहिले तीन वटा वडा मिलाएर १० हजार भन्दा बढी स्थानीयहरु प्रभावित भएका छन् । पीडितहरुलाई उद्वारको काम भइरहेको छ । वहाँले थप्नु भयो,’ यसमा प्रदेश र केन्द्र सरकारको सहयोगको धेरै आवश्यकता छ । प्रदेश र केन्द्र सरकारलाई तुरुन्त ठोस कदम चाल्नु पर्ने हुन्छ । अन्यथा भयावह हुन सक्ने सम्भावना ह्वात्तै बढेको छ,’ वहाँले भन्नु भयो ।
कोशी व्यारेजदेखि १५ किलोमिटर उत्तरमा पश्चिमी तटबन्ध फुटेर बस्तीमा पसेपछि जनप्रतिनिधि, सुरक्षाकर्मी, राजनीतिकर्मी, नेपाल रेडक्रस सोसाइटीका टिमहरुले स्थानीयहरुलाई सुरक्षित उद्वार गरिरहेको प्रवक्ता खड्काले जानकारी दिनुभयो । उनले गाउँपालिकाको श्रोत साधन परिचालन गरेर उद्वारको काम भइ रहेको बताउनुभयो । प्रवक्ता खड्काले बाढी प्रभावित भएकाहरुको लागि तत्कालै खाद्यान्न सामाग्री, ओैषधी र त्रीपालको व्यवस्था गरेर पठाउन प्रदेश र केन्द्र सरकारलाई आग्रह गरेको छ ।
बेलका नगरपालिका प्रमुख अशोक कार्कीले सप्तकोसीको बाढीले धेरै क्षति पुर्याएको जानकारी दिए । नगरप्रमुख खड्काले भने,’ हजारौं बिघा जग्गा त जान्छ नै १० हजार भन्दा बढी जनसंख्या बिस्तापित हुनेभयो । अरु त माया मारिसक्यो, मानिसलाई कसरी सुरक्षित गर्ने मात्रै अबको विकल्प छ । त्यसै अनुरुप विस्थापित परिवारलाई अन्यत्र सार्ने काम भइरहेको छ । आवश्यक खाद्यान्न लगायतको सामाग्रीको व्यवस्था गर्न आफू लागी परेको छु । प्रदेश र केन्द्र सरकारले पनि तुरुन्त समयमै सहयोग गर्नु पर्दछ,’ वहाँले भन्नुभयो ।
यता कोशी व्यारेजका ३२ ढोका खुला गरिएको छ । बिहारमा पानीले ठुलो क्षति पुर्याउने अनुमान गर्दै कोशी व्यारेजमा भारतिय पक्षले ढोकाहरु धेरै संख्यामा बन्द गरेर राखेका छन् ।





