काठमाडौँ / गृहमन्त्री वालकृष्ण खाँणलाई नेपाल मुस्लिम इत्तेहाद सङ्गठनले मक्का मदिनामा जाने हजयात्रीको शुल्क घटाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ।
सङ्गठनका अध्यक्ष सराज अहमद फारुकीको नेतृत्वमा गएको टोलीले गृहमन्त्री खाँणलाई भेटी हज गर्न जाने हजयात्रीलाई तोकिएको शुल्क घटाउन माग गर्दै शनिबार ज्ञापन पत्र बुझाएको नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका केन्द्रीय सदस्य मोहमद शाहिद हुसैनले जानकारी दिएका छन ।
सरकारले साउदी अरबको मक्का मदिनामा हज गर्ने जाने हजयात्रीबाट विगतभन्दा दोब्बर शुल्क तोकेको छ। यही जेठ १५ गते नेपाल हज कमिटीले सूचना जारी गर्दै मक्कामदिना जान हजयात्रीबाट चार लाख ६६ हजार ३९२ रुपैयाँ तोकेको छ। २०७६ मा सालमा दुई लाख २५ हजार रुपैयाँ शुल्क तोकिएको थियो।
नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका सचिव हलिम शाहले मुस्लिम समुदायको आर्थिक अवस्था कमजोर रहेकोले सरकारले तोकेको शुल्क तिरेर जान अवस्था नरहेकोले शुल्क घटाउन माग गरिएको जानकारी दिए। उनका अनुसार ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाँणले शुल्क घटाउने प्रतिबद्धता व्यक्त गरेको बताए ।
ज्ञापन पत्रमा विगतका बर्षमा झै यसपटक पनि हज गर्ने जाने यात्रीलाई आर्थिक अनुदान दिनुपर्ने, हजयात्रीलाई पैसा जम्मा गर्ने समयावधि जेठ ३० गतेसम्म राख्नुपर्ने, आर्थिक वर्ष २०७६/०७७ मा हज गर्न जान भनि फारम भरी रकम जम्मा गरेका हजयात्रीलाई पहिलो प्राथमिकता राख्नसमेत माग गरिएको सचिव शाहको भनाइ छ।
यहि असार ७ गते हजयात्री हज गर्न मक्कामदिनामा जाने तयारीमा रहेका छन्। कोरोना भाइरसका कारणले २०७७ र २०७८ सालमा हज गर्न बन्द गरिएको थियो। नेपालका लागि हजयात्रीका लागि एक हजार ५०० जनाको कोटा भए पनि कोरोना भाइरसका कारणले ५५४ जना मात्र सरकारले लैजाने भएको छ।
नेपालमा २०२१ सालबाट नै हज गर्न मुस्लिम समुदायका मानिसहरु मक्कामदिना जाने गरेका थिए। २०२१ सालमा भारतको मुम्बईबाट समुद्रसहत हुँदै हजयात्री मक्कामदिना जाने गर्दथ्ये। २०४७ सालबाट हजयात्री हवाईमार्ग हुँदै मक्कामदिना जाने गर्दछन्।
मुस्लिम समुदायको पवित्र तीर्थस्थलका रुपमा रहेको मक्कामदिनामा विश्वभरका मुस्लिम समुदाय हज गर्न जाने गर्दछन्। मुस्लिम समुदायले मक्कामदिनामा गएर नमाज पढे र कुर्वानी दिए विगतमा गरिएका पाप कट्ने धार्मिक विश्वास छ





