भारतीय प्रहरीले सुनसरी हुँदै प्रवेश गरेका तस्करीको तीन ट्रक चाइनिज स्याउ बरामद गरेपछि आन्तरिक छानबिन गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले चार जनालाई विभागीय कारबाही गरेको हो ।
३० जेठमा भारतीय प्रहरीले स्याउ बरामद गरेपछि प्रदेश १ प्रहरी कार्यालयले सङ्घीय प्रहरी एकाइ कार्यालयका तत्कालीन एसएसपी राजेन्द्र चौधरीको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।
समितिको सिफारिसमा प्रदेश १ प्रदेश प्रहरी कार्यालयको रिजनल इन्भेस्टिगेसन टिम ‘रिट’ शाखामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) किरण मोक्तान, प्रहरी चौकी हरिपुर सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक भूपराज पोखरेल, सुनसरीकै श्रीपुर जब्दी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक टेकबहादुर कार्की र सोही कार्यालयमा कार्यरत प्रहरी हवल्दार वीरेन्द्रकुमार यादवलाई विभागीय कारबाही गरेको प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीले बताए ।
उनका अनुसार गत जेठ २९ गते सुनसरीको कोसी गाउँपालिका हुँदै ना ६ ख १५१२, ना ६ ख १८९५ र प्रदेश १ –०२–००१ ख ८०४१ नम्बरका ट्रकमा सुनसरीको कोसी गाउँपालिकाको लाही नाका हुँदै स्याउ भारत प्रवेश गराइएको थियो ।
तीमध्ये ना ६ ख १८९५ नम्बरको ट्रक विराटनगरमा, ना ६ ख १५१२ ट्रक जनकपुरमा र प्रदेश १–०२–००१ ख ८०४१ नम्बरको ट्रक सप्तरीको कञ्चनपुरमा लोड भएको थियो ।
एसएसपी चौधरीको संयोजत्कवमा गठन भएको छानबिन टोलीले बुझाएको प्रतिवेदनका आधारमा कनिष्ठ तहका चार प्रहरी कारबाहीमा परे पनि छानबिनको दायरामा उच्च पदस्थ प्रहरी परेका छैनन् ।
तस्करी प्रकरणमा तत्कालीन डिआइजी ईश्वरबाबु कार्की र सुनसरी प्रहरी प्रमुख कमल थापाको पनि नाम जोडिएको चर्चा चलेको थियो ।
दुवै जनाको सरुवा भइसकेको छ । तर प्रदेशले उच्च पदस्थमाथि छानबिन नगरेपनि प्रहरी प्रधान कार्यालयले छानबिन गर्न सक्ने डिआइजी बिसीले बताए ।
स्याउ तस्करी प्रकरणमा प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले पनि चासो देखाएको उनले बताए । ‘तस्करीको विषयमा हेल्लो सरकारमार्फत उजुरी पुगेको थियो,’ डिआइजी बिसीले भने, ‘घटनामा प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले चासोका साथ हेरेको छ ।’
स्रोतका अनुसार स्याउ तस्करीको घटनामा जोडिएका प्रदेश प्रहरी कार्यालय अन्तर्गत रिटका सई मोक्तानको कल डिटेल अध्ययन गर्दा मोक्तानले स्याउ तस्करीको लाइन मिलाउन सीमा क्षेत्रका प्रहरी र प्रदेशका उच्च पदस्थ प्रहरीसँग सम्पर्क गरेकाे देखिएको थियो । मोक्तानलाई तत्कालीन डिआइजी ईश्वरबाबु कार्कीले सुनसरीको सीमावर्ती क्षेत्रमा खटाएका थिए ।
भारतीय प्रहरीले स्याउ बरामद गरेलगत्तै सीमा प्रहरी चौकी भान्टाबारी सुनसरीमा कार्यरत प्रहरी नायब निरीक्षक गङ्गाप्रसाद थापा, श्रीपुर जब्दी सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक टेकबहादुर कार्की र अस्थायी प्रहरी चौकी कोसी कटान सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक आशनारायण माझीलाई निलम्बन गरेको थियो ।
थापा र माझीको संलग्नता नदेखिएपछि उनीहरूले सफाइ पाएका छन् । छानबिन समितिको प्रतिवेदनका आधारमा प्रदेश प्रहरी कार्यालयले कारबाही गर्ने क्षेत्राधिकार भएका प्रहरीलाई कारबाही र प्रधान कार्यालयबाट कारबाही हुनुपर्ने प्रहरीका हकमा सिफारिस गरिसकेको बिसीले बताए । कोसि अनलाईन बाट साभार





