विराटनगर / धेरैले कोरोना भाइरसविरूद्धको खोप लगाइसकेका छन् र खोप लगाउने क्रम जारी नै छ ।
अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोभिशिल्ड खोपको दोस्रो डोज लिनका लागि पर्खिरहेका छन् ।
खोप छिट्टै विकास भएका कारण खोप लगाएका धेरैजसोमा सामान्य साइड इफेक्ट देखापर्ने हुँदा धेरै व्यक्तिमा अझै पनि खोपसम्बन्धी भ्रम रहेको पाइन्छ । पहिला कोरोना भाइरस सम्बन्धित धेरै भ्रम फैलिएको थियो । त्यस्तै कोरोना भाइरसविरुद्धको खोपसँग सम्बन्धित पनि समाजमा धेरै भ्रम फैलिएको छ ।
भाइरसविरुद्धको खोप लगाएपछि बाँझोपन निम्तिने खोपसँग सम्बन्धित सबैभन्दा ठूलो भ्रम हो जसमा कुनै पनि सत्यता छैन । खोप लगाएपछि यसले मानिसमा बाझोपन निम्त्याउने भन्दै सामाजिक सञ्जालमा व्यापक रुपमा भ्रम फैलाइएको छ । तर, हालसम्म कुनै पनि खोपले महिला तथा पुरुषमा बाँझोपनको समस्या निम्त्याएको कुनै वैज्ञानिक प्रमाण छैन ।
यसबाहेक कोरोना भाइरसविरुद्धको खोपसँग सम्बन्धित धेरै भ्रम छन् जसको तथ्य मानिसहरूले बुझ्ने प्रयास गरेका छैनन् । समाजमा कोरोना भाइरसविरुद्धको खोपसँग सम्बन्धित केही भ्रम र त्यसका तथ्यहरू यस्ता छन् :
भ्रम : खोपको परीक्षण छिटो भएको थियो, त्यसैले खोप असुरक्षित हुन सक्छ ।
तथ्य : अवश्य पनि खोप छिटो विकास भएको हो । त्यसको मतलब खोप असुरक्षित छ भन्ने होइन । धेरै चिकित्सा पेशेवर, फार्मा जायन्ट्स र वैज्ञानिकहरू मिलेर कोभिडविरूद्ध एक प्रभावकारी खोपको विकास गरेका छन् । साथै, खोपले सबै ट्रायल पास गरेपछि मात्र खोप प्रयोगका लागि अनुमति दिइएको हो ।
भ्रम : खोपले शरीरको प्रतिरोध क्षमता कमजोर गर्ने र भाइरसबाट सङ्क्रमित गराउन सक्छ ।
तथ्य : यो भनाइमा सत्यता छैन । कोभिडविरुद्धको खोपले शारीरिक प्रतिरक्षा प्रणालीलाई घातक रोगजनक पहिचान गर्न मद्दत गर्नुका साथै यसको बिरूद्ध लड्न सक्षम गर्छ । खोपले कुनै पनि हिसाबले प्रतिरक्षा प्रणालीलाई कमजोर वा ओभरलोड गर्दैन । जसकारण, खोपले भाइरसबाट सङ्क्रमित गर्न सक्ने कुनै तरिका छैन ।
भ्रम : कोरोना भाइरसबाट सङ्क्रमित भएकाले खोप लिनु आवश्यक पर्दैन ।
तथ्य : एक पटक सङ्क्रमित भइसके पनि पुन सङ्क्रमित हुने सम्भावना धेरै हुन्छ । कोरोना भाइरसबाट सङ्क्रमित भएकाले समेत खोप लिनु आवश्यक हुन्छ । भाइरसबाट सङ्क्रमित भइरहेको वा उपचार गरिरहेका मानिसले खोप लिन केही समय कुर्नुपर्ने हुन्छ । र, कोभिडबाट निको हुनासाथ खोप लगाउन सकिन्छ ।
भ्रम : खोप लगाएपछि मास्क लगाउन जरुरी हुँदैन ।
तथ्य : अधिकांश मानिसमा खोप लगाएपछि मास्क लगाउन तथा सामाजिक दूरी कायम गर्न जरुरी हुँदैन भन्ने सोच छ । खोप लिइसकेको हो र छेउछाउका सबैले खोपको दुबै लिएका छन् भने मास्क लगाउन जरुरी नहुन सक्छ । तर, धेरैले खोप लिइनसकेको हुँदा कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायम नै रहने हुँदा खोप लगाए पनि मास्क र सामाजिक दूरीलगायतका उपाय अपनाउनु बुद्धिमानी हुन्छ ।