प्रदेश २ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको आमहड्तालमा प्रहरीको लाठी चार्जबाट घाइते भएका पूर्वमन्त्री मातृका यादवलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
बिहीबार दिउँसो बन्द सफल पार्न जनकपुरधामस्थित शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरी र पूर्वमन्त्री यादवको समूहबीच झडप हुँदा अण्डकोषमा गम्भीर चोट लागेको कारण उनलाई उपचारका लागि काठमाडौँ लगिएको हो ।
प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट प्रमोद यादवले पूर्वमन्त्री यादवको अण्डकोषमा गम्भीर चोट लागेको पुष्टि गरेका छन् । प्रदर्शनका क्रममा पूर्वमन्त्री यादवसहित स्थायी समिति सदस्य रामचन्द्र झा, शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साह घाइते भएका थिए ।
उनीहरूलाई अवस्था गम्भीर देखिएकोले थप उपचारका लागि रेफर गरिएको हो । प्रादेशिक अस्पतालमा उपचारपश्चात डिस्चार्ज गरिएपछि उनीहरू आफ्नो हिसाबले थप उपचारका लागि काठमाडौँ गएको प्रादेशिक अस्पतालका मेसु डा. यादवले बताएका छन् ।
जनकपुरमा प्रहरी र बन्दकर्ताबीच झडप हुँदा दाहाल–नेपाल समूहको नेकपाका एक दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएका थिए ।