दुहबी / उदयपुरमा भरुवा बन्दुक पड्किएर बुधबार राति वन रक्षकको मृत्यु भएको छ ।
सुनसरी दुहवी ४ घर भएका ४० वार्षीय लेखनाथ वास्तोलको भरुवा बन्दुक पड्किएर मृत्यु भएको उदयपुर प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले जनाए । यता भने परिवारिक स्रोतका अनुसार वास्तोलाको हत्या भएको आसंका गरिएको छ
उदयपुर प्रहरीका अनुसार वास्तोला सव डिभिजन वन कार्यालय तपेश्वरीमा कार्यरत वन रक्षक हुन्।
एसपी दाहालका अनुसार जंगलमा गस्तीका निस्किएका वन रक्षकले लोड गरेको अवस्थामा भरुवा बन्दुक फेला पारेर राति १० बजेतिर कार्यालय ल्याएका थिए ।
वनकै गाडीमा राखेर ल्याइएको बन्दुक गाडीबाट निकाल्ने क्रममा उदयपुरको बेलका नगरपालिका–१ स्थित कार्यालयको गेट अगाडि पड्किएको उनको भनाइ छ । बन्दुकको छर्राले छात्तीमा लागेपछि वास्तोलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘वनको गस्तीमा निस्किएका रक्षकले भरुवा बन्दुक फेला पारेर कार्यालयमा ल्याएका रहेछन् । बन्दुक गाडीबाट निकाल्ने क्रममा अचानक पड्किएर घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ एसपी दाहालले भने, ‘बन्दुक कुन ठाउँमा फेला परेको हो र कसरी घटना भयो भन्ने बारेमा थप अनुसन्धान भइरहेको छ । अनुसन्धानका सबै प्रक्रिया पूरा गरेपछि थप कुरा खुल्ने छ ।’
प्रहरीले बन्दुक कस्तो अवस्थामा फेला परेको भन्ने बारेमा विस्तृतमा अनुसन्धान थालिएको जनाएको छ । बन्दुक कसले छाडेको हो भन्ने बारेमा यकिन हुन बाँकी रहेको प्रहरीको भनाइ छ । वन्यजन्तुको चोरी सिकारी गर्ने समूह जंगल पसेको र वन रक्षक गस्तीमा आएको चाल पाएर बन्दुक त्यहीँ फ्यालेर भागेको हुनसक्ने एसपी दाहालले बताए ।
प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले घटनाका बारेमा गम्भीर रुपले अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनले गहन ढंगले घटनाको अनुसन्धान गर्दैै वास्तविकता पत्ता लगाउन पनि उदयपुर प्रहरीलाई निर्देशन दिए ।