दुहबी / सूर्यको उपासना गरेर हिन्दु धर्मावलम्बीले चार दिनसम्म मनाउने छठ पर्वको दोस्रो दिन आज (बिहीबार) परेको छ ।
तराईमा विशेष गरेर मनाइने छठ पर्वको दोस्रो दिन ब्रतालुहरु खरना मनाउँछन् । दिनभर ब्रत बसेर बेलुका नैवेध चढाई सख्खर हालेर बनाएको खीर, मुला, केरा खानुलाई खरना भनिन्छ । छठमा चार दिनसम्म सूर्यको पूजा आराधना गरिन्छ । व्रतालुले उदाउँदै र अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएर पूजा गर्छन्।
छठको दोस्रो दिन ब्रतालुहरु दिनभर ब्रत बसेर साँझ एक छाक खाने गर्छन् । एक छाक मात्र भोजन गर्नुको कारण, छठको दिन अर्थात् भोलिपल्ट दिनभरि पानीसमेत नपिई निराहार व्रतको पूर्वाभ्यास पनि हो ।
चार दिन सम्म कठोर व्रत बसी सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्नका लागि यो पर्व मनाइने गरिन्छ । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ ।
सृष्टिको आदि कालदेखि नै यस जगतका प्रत्यक्ष देवता सूर्यनारायण भगवानको उपासना, आराधना गरिँदै आएको पाइन्छ। अग्नि पुराणमा षष्ठी व्रतको प्रसङ्ग उल्लेख गरिएको छ।
द्वापर युगमा चौध वर्षको वनवास र एक वर्षको अज्ञात वास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवहरूले पनि यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौसल्याले पनि यो व्रत गरेको बताइन्छ। यो पर्व वर्षको दुई पटक मनाउने गरिन्छ ।
अहिले मनाइने छठलाई ठूलो छठ भनिन्छ भने चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।