सुनसरीको दुहबीमा ३० औंं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा २० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।
आज दुहबी वडा नम्बर १२ को कार्यालयले आफ्नो वडाका २० जना जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमका बिच दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरेको थियो।
सो अवसरमा दुहबी वडा नम्बर १२ का वडाअध्यक्ष खुसिलाल चौधरी, समाजसेवि अनन्तलाल चौधरी, वडा सदस्यहरु र वडा सचिब डम्बर बजगाइले जेष्ठ नागरिकहरुलाइ सम्मान गर्नु भएको थियो।
सन् १९९९ लाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक वर्ष’ को रूपमा विश्वभरि मनाइएको थियो भने यद्यपि हरेक वर्षको अक्टोबर १ लाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ र जुन १५ लाई ‘ज्येष्ठ नागरिकप्रति गरिने दुव्र्यवहारविरुद्ध विश्व चेतना दिवस’ को रूपमा मनाउने गरिएको छ ।
सामाजिक उत्तरदायित्व बढ्ने र त्यस्तो उत्तरदायित्व निर्वाह गर्ने क्रममा आर्थिक भार बढ्ने हुनाले गरिब मुलुकले ज्येष्ठ नागरिकहरूको सुरक्षित र मर्यादित जीवनयापनको लागि आवश्यक सामाजिक सुरक्षाको प्रबन्ध उचितरूपमा हुन सकेको छैन । विशेषगरी मुलुकको राष्ट्रिय बजेट नै वैदेशिक सहायतामा निर्भर रहने नेपाल जस्ता अति कम विकसित मुलुकहरूले आर्थिक कठिनाइकै कारण सामाजिक सुरक्षामा खासै उल्लेखनीय बजेट विनियोजन गर्न सकेको पाइँदैन ।
राज्यका योजना, नीति तथा कार्यक्रमले सामाजिक सुरक्षामा जोड दिने गरे पनि बजेट अभावकै कारण त्यस्ता योजना, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन नसक्दा विशेषगरी आर्थिकरूपमा पराश्रित ज्येष्ठ नागरिकहरूको जीवनयापन कष्टपूर्ण हुने गरेको दृष्टान्त देख्न पाइन्छ ।
नेपालको संविधान २०७२ को धारा ४१ मा ‘ज्येष्ठ नागरिकको हक’ शीर्षकमा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ उल्लेख गरिएको छ । यसैगरी ज्येष्ठ नागरिकका हकहितको सुनिश्चितताको लागि विभिन्न कार्यक्रम तर्जुमा गर्न सहज होस् भन्ने उद्देश्यले पछिल्लो समय ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३’ तथा ‘ज्येष्ठ नागरिकसम्बन्धी नियमावली २०६४’ पनि जारी गरिएको छ । 







