सुनसरी / हिजो इटहरी उपमहानगरपालिकाले म्याद गुज्रिएको औषधि बेचेको भन्दै इटहरीको औषधि पसल माथी कारबाही गर्दै ३ वटा औषधि पसल सिल गरेको थियो। सिल गरेको बिरोधमा आन्दोलन गर्दै इटहरी क्षेत्रका सबै औषधि पसलहरु आज देखि अनिश्चित कालिन बन्द गरेपछि इटहरी उपमहानगरपालिकाले पसलको सिल खोलेको औषधि ब्यबसायी संघ स्रोतले जनाएको छ।
औषधि व्यवसायी संघले अनुगमन गर्दा औषधि व्यवसायी संघको प्रतिनिधिलाई समेत समावेश गर्नुपर्ने माग गर्दै कोभिड संकटका कारण औषधि व्यवसायीका समस्या बुझि समाधानका लागि पहल गर्नुपर्ने तथा अब उप्रान्त यस किसिमको निन्दनीय कार्य नदोहोर्याउने प्रतिबद्धता समेत औषधि व्यवसायीले इटहरी उपमहानगरपालिकाबाट खोजेको जनाइएको छ।
यता इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले भने जनताको जीवनसँग खेलवाड गर्ने अधिकार औषधि व्यवसायीलाई नभएको भन्दै सरकारी अनुगमन टोलीले कैफियत देखिएका औषधि पसलमा रितपूर्वक ताला लगाएको जानकारी दिइन् । औषधि व्यवसायीहरु गल्ति सच्याएर नियमसम्मत रुपमा व्यवसाय सञ्चालन गर्न सहमत भएपछि पसलको ताला उपमहानगरपालिकाले खोलिदिएको भएतापनि दोषी औषधि पसल तथा त्यसका सञ्चालकमाथि कारबाहीको प्रकृया जारी नै रहेको उपमेयर गौतमले प्रष्ट पारिन् । उपमहानगरपालिकाले सम्पूर्ण प्रकृया पूरा गरी दोषी व्यवसायीलाई कारबाहीको दायरामा ल्याइछोड्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।