दुहबी / टहरामा सुत्न नदिएको रिस फेर्न एक युवाले सुनसरीको गढी गाउँपालिका बालुवा र सिमेन्टको रिङ बनाउँदै आएका ज्ञानचन्द ऋषिदेवका हत्या गरेको खुलेको छ। गढी गाउँपालिका २ सखुवारेका ३० वर्षीय युवा चन्दन ऋषिदेवले टिनको टहरामा सुत्न नदिएको रिस फेर्न सोही गाउँपालिका ६ मा बस्दै आएका ५० वर्षीय रिङ मिस्त्री ज्ञानसन ऋषिदेवको फरुवाले घाँटी काटेर हत्या गरेको खुलेको हो ।
ज्ञानचन्दको टाउको काटिएको शव सोमबार उनले संचालन गर्दै आएको सोही गाउँपालिकाको २ नम्बर वडामा पर्ने थलाहा स्थित रिङ उद्योगमा फेला परेको थियो। हत्याको सूचना पाएर जासुसी कुकुरसहित बिहान पुगेको प्रहरीले ऋषिदेवको शवको टाउको घटनास्थलदेखी ५० मिटर उत्तरपश्चिम गुजाइटोकीमा प्रहरीले फेला पारेको थियो ।
सुनसरीका एसपी विपिन रेग्मीका अनुसार मिस्त्री ज्ञानचन्दले भाडामा संचालन गर्दै आएको रिङ उद्योगभित्र रहेको टिनको टहरामा आवारा युवा चन्दन ऋषिदेव राती सुत्दै आएका थिए। तर ज्ञानचन्दले गाली गर्दै त्यहाँ सुत्न नदिएपछि रिसाएका चन्दनले राती निदाएको बेलामा फरुवाले घाँटी काटेर ज्ञानचन्दको हत्या गरेर टाउको अन्तै लगेर फालिदिएका थिए।
टहरामा सुत्न नदिएको झोकमा सोमबार राती ज्ञानचन्दको क्रुरतापुर्वक हत्या गरेपछि घटनास्थलमै रहेका चन्दनले लगाएको लुगामा रगतको टाटा देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा हत्याको कारण खुलेको थियो। प्रहरीका अनुसार हत्या आरोपी चन्दन लागुऔषध सेवन गर्ने आवारा भएकाले उनी मनोरोगीझै एकोहोरो स्वभावका छन् ।