दुहबी/सुनसरीको दुहबीमा नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिले समानताका आधारमा सबैलाई बराबरी हक र बराबरी अवसर दिने जनाए। ओलिले आफ्ना कार्यकर्तालाई गड्यौलो न भइ सर्प जस्तो चनाखो भएर काम गर्न समेत निर्देशन दिए।
नेकपा एमाले सुनसरी क्षेत्र नं. ३ ले दुहवीमा आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमालेको नेतृत्वमा बहुमतको सरकार गठन हुने बताएका हुन् । राष्ट्र, राष्ट्रीयता, राष्ट्रिय अखण्डता, स्वाभिमान र विकासका लागि जनताले मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा बहुमत दिने दावी समेत ओलीले गरे ।
ओलीले सुनसरीको क्षेत्र नं. ३ बाट दुई दुई वटा निर्वाचन लडेकी भगवती चौधरीले जितेर पनि हारेको प्रसंग निकाल्दै मंसिर ४ गतेको निर्वाचनलाई निष्पक्ष र धाँधली रहित गराउन राज्य र प्रशासनले स्वतन्त्र रुपमा काम गर्नुपर्ने बताए । राष्ट्र सेवक कर्मचारीहरु कुनै दलको तलब नखाएकाले कसैको दवाव र प्रलोभनमा नपरी काम गर्नुपर्ने जिकीर गरे ।
कार्यक्रममा बोल्दै एमाले नेतृ भगवती चौधरीले सुनसरी क्षेत्र नं. ३ को विकास र समृद्धिको लागि नेकपा एमालेलाई जिताउनु पर्ने बताइन् । दशकौंदेखि सुनसरी ३ नम्वर क्षेत्र विकास र परिवर्तनको पखाईंमा रहेको बताउँदै नेतृ चौधरीले आफु आफ्नो जन्मभूमि र कर्मभूमिमै सर्मपण रहेको बताइन् । योपल्ट जनताहरुले परिवर्तनकै पक्षमा मतदान गर्ने विस्वास गरेको उनले बताइन् ।
कार्यक्रममा सुनसरी क्षेत्र नं. ३ अन्तरगत बर्जु, गढी, दुहवी, इटहरी क्षेत्र बाट कांग्रेस माओवादी लगायतबाट सयौंको संख्यामा रहेका व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । उनीहरुलाई पार्टी अध्यक्ष केपी ओली, नेतृ चौधरी, सुनसरी जिल्ला इन्चार्ज जगदिश कुसियत लगायतले अविर तथा दोसल्ला लगाएर स्वागत गरेका थिए ।