दुहबी/दुहबी नगरपालिका वडा नम्वर ६ र बुढीगंगा गाउँपालिका वडा नम्बर ५ को सिमानामा पर्ने बुढीखोलामा माटो प्रसोधनको नाममा बुढी खोला दोहन हुँदा दुहबी वडा नम्बर ६ को बस्ती र खोलाको किनारमा रहेको नम्बरी जग्गाहरु उच्च जोखिममा परेको छ।
बुढीखोलाको धारनै परिवर्तन हुँनेगरि बुढीखोलामा डोजर लगाएर ठाउँ–ठाउँमा गहिरो भंगालो बनाउँदा समेत सरोकारवालाहरु बेखवर रहेको पाइएको छ । बस्ती छेवमा रहेको बुढीखोलामा डोजर लगाएर खोला उत्खनन हुँनेगरि अवैधरुपमा गहिरो भंगालो बनाउँदा समेत कसैले वास्ता नगरेको स्थानियहरु बताउँछन । सो ठाउँमा गहिरो भंगालो बनाइ नदि उत्खनन गर्ने गरेको र सयौंको संख्यामा ट्रयाक्टर र टिपरबाट माटो लाने गरेको पाइएको छ।
खोला भित्र र खोलाको किनारमा कारोवारीहरुले डोजर लगाएर गहिरो भंगालो बनाइ उत्खनन गर्दा समेत कसैले रोक्ने प्रयास गरेको छैन । प्रारिम्भक वातावरणीय परिक्षण प्रतिवेदन विपरित पुरै वस्ती र नदि छेवछावका नम्बरी जग्गालाइ जेखिम पार्ने हिसाँवले खोलाको प्राकृतिक बहावको छेवछावमा अवैधरुपमा उत्खनन भइरहेको भएपनि कसैले न रोक्दा त्यसमा प्रहरीको मिलेमतो हुँनसक्ने स्थानियको आशंका छ।
स्थानिय तहले खोलाको प्राकृतिक बहावको दायाँ र बायाँ तिनसय मिटर ऐलानी र नम्बरी जग्गाको माटो उत्खनन गर्न न पाइने ब्यवस्था छ। सो विषयमा बुढिगंगा गाउँपालीकाका अध्यक्ष बाल चन्द्र माझीसँग बुझ्दा सो खोलाबाट उत्खनन गर्न केहि ठाउँमा अनुमति दिएको स्विकार गर्दै आफ्नो कुनै किसिमको मिलोमतो नभएको र उत्खनन गराउने व्यक्तिले राजस्व गाउँपालिकामा बुझाउने गरेको भन्दै हाल कुन ठाउँमा बढि उत्खनन भईरहेको आफूेले अनुगमन गर्ने बताए ।
उता सोही गाउँपालीकाका प्रमुख प्रसाशकिय अधिकृत डम्मरुबल्लभ बरालका अनुसार डोजर प्रयोगगरि नदिको धार परिवर्तन गर्ने हिसाबमा गहिरो भंगालो बनाई खोला उत्खनन गर्नु भनेको सरासर गलत भएको बताउँदै आफू लाई जानकारी आएको ठाउँमा प्रहरीलाइ खबर गरेको र केहि ठाउँबाट ट्रयाक्टर समाउन लगाएर जरिवाना समेत तिर्न लगाएको बताए। उनले गाउँपालीकाबाट आधीकारिक रुपमा बिकास निर्माणकार्यको लागि मापदण्ड तोकेर निजि जग्गाबाट बाहेक कुनै पनि ठाउँमा डोजर प्रयोग गरि नदि उत्खनन गर्ने सहमति नभएको बताए । उनले भने बिकास निर्माणकार्य प्रयोजनको लागि केहि ठाउँमा नदि उत्खन्न गर्नु पुर्व सम्बन्धित वडा कार्यलयको सिफारिस अनुसार केहि घनमिटर तोकेर उत्खनन गर्न पाउने सहमति मात्र आफूलाई थाहा भएको बताए।
यता सो विषयमा ईलाका प्रहरी कार्यलय नेमुवाका प्रमुख शंकर प्रसाद खतिवडासँग बुझ्दा अवैध किसिमले खोला उत्खन्न रोक्न प्रहरी मात्र सरोकारवाला नभएर जनप्रतिनिधिहरुको पनि उतिनै दायित्व भएको भन्दै पन्छिएका थिए।