विराटनगर, / विराटनगरको प्रतिष्ठित औद्योगिक घराना टाट पल्टिएको छ । कुनै समय एकछत्र व्यवसाय जमाएको विराटनगरको मगन्तुराम समूह टाट पल्टिएको हो । टाट पल्टिएको समूहले लिएको ऋण असुलीका लागि बैंकले भौतिक सम्पति लिलामीको सूचना निकालेको छ ।
विराटनगरको औद्योगिक घराना मगन्तुराम अग्रवाल समूहको नौवटा उद्योग र व्यापारिक प्रतिष्ठानका नाममा रहेको अचल सम्पत्ति लिलामीको सूचना बिहीबार निकालेको हो ।
बैंकले ३५ दिने सूचना निकालेर ऋणीहरुलाई कर्जा सुविधा चुक्ता गर्न आव्हान गरेको छ । म्यादभित्र चुक्ता नभएर नौवटा फर्म, कम्पनी ८७ करोड २४ लाख ३६ हजार ६ सय ५७ रुपैयाँ धितो लिलामी हुने सूचनामा जनाएको छ ।
४० को दशकमा उदाएको औद्योगिक घराना व्यवस्थापनमा भएको कमजोरीका कारण धरासायी बन्दै गएको थियो । २०६२ सालमा कर्जा सूचना केन्द्रले मगन्तुराम समूहलाई कालो सूचीमा राखेको थियो ।
अन्नपूण सोप एन्ड केमिकल उद्योग स्थापना गरी साबुन उत्पादन गरेर आर्थिक उपार्जनको ग्राफमा उकालो लागेको समूह विस २०६० को दशकमा आइपुग्दा ओरालो लागेको थियो । उद्योग सञ्चालन गर्न नसकेपछि उक्त समूहका सञ्चालकहरु भारत पलायन भएको थिए । वाणिज्य बैंकबाट उद्योग सञ्चालनका लागि लिएको ऋणको सावाब्याज भुक्तानी नगरेपछि उद्योगका अचल सम्पत्तिको लिलामीको सूचना बैंकले प्रकाशित गरेको हो ।
उक्त समूहको सुनसरी र मोरङमा अन्नपूर्ण सोप एन्ड केमिकल, नारायण भेजिटेबल, गणेश प्लाष्टिक, जयकाली प्याकेजिङ, लक्ष्मी फुटवेयर, अन्नपूर्ण आइरन, घटस्थापना र फूलपाती इन्टरप्राइजेज रहेका छन् । जुन लामो समयदेखि बन्द छन् । उद्योगहरु खण्डहर अवस्थामा छन् ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ऋणले ब्याज तिर्न लामो समयदेखि चासो नदेखाएकाले बैंकले सबै ‘प्रोपर्टी’ आफ्नो नाममा ल्याएको बताए ।
सञ्चालकमध्येका कृष्णकुमार अग्रवाल सम्पर्कमा आए पनि उनले लोन तिर्ने विषयमा कुनै पहल नगरेकाले बैंकले लिलाम निकालेको हो ।
ऋणीहरु सम्पर्कमा आएर लोन सेटल गर्न चाहेमा ३५ दिनको समय दिइएको श्रेष्ठले बताए । मगन्तुराम समूहले लिएको ऋणको सवा र ब्याज गरी झण्डै चार अर्ब रुपैयाँ पुगेको छ ।
विसं २०३० सालमा महेन्द्र मोरङ कलेज स्थापना भएपछि उक्त कलेजमा अध्ययन गरेका मगन्तुराम अग्रवालले २०४० को दशकदेखि व्यापारमा हात हालेका थिए । उद्योगी सुशील धनावतसँगको सहकार्यमा आयात–निर्यातको व्यवसाय गरिरहेको मगन्तुरामले २०४० को दशकमा हिमालय सोप इन्डस्ट्रिज स्थापना गरे ।
साबुन उद्योगले अत्यधिक नाफा दिन थालेपछि धनावतसँगको साझेदारी तोडेर अग्रवालले आफ्ना भतिजा शंकरलाल अग्रवाललाई पार्टनर बनाएका थिए । भतिजोसँगको सहकार्यमा उनीहरुले सुनसरीकै सोनापुरमा पशुपति सोप इन्डस्ट्रिज स्थापना गरेका थिए ।
दुबै उद्योगको उत्पादनले नेपालमा एकछत्र बजार ओगटेको थियो । भतिज शंकरलालसँगको साझेदारी पनि २०४७ सालमा टुंग्याउँदै मगन्तुरामले अन्नपूर्ण सोप एन्ड केमिकल उद्योग सञ्चालनमा ल्याए । त्यसपछि मगन्तुरामका छोराहरुले उनको उद्योग सञ्चालनमा सहयोग गर्न थाले ।
मगन्तुराम समूह व्यापारी घरानाको रुपमा स्थापित भइसकेको थियो । उनका जेठा छोरा सुवोधकुमार अग्रवालले अन्नपूर्ण सोप एन्ड केमिकल इन्डष्ट्रिज प्रालिको व्यवस्थापनको जिम्मा लिएर उद्योगलाई सञ्चालन गर्न थालेका थिए ।
सामान्य आर्थिक अवस्था भएका मगन्तुरामले अन्नपूर्ण सोप एन्ड केमिकल उद्योग खोलेपछि निकै राम्रो आर्थिक हैसियत बनाएका थिए । उनलाई बैंकले समेत सफल उद्योगीको रुपमा पत्याएका थिए । त्यही छविको कारण उनले अन्य उद्योगहरु खोल्दै गए ।
आफ्ना पाँचजना छोरालाई एउटा–एउटा उद्योग जिम्मा दिएका थिए । २०५३ सालसम्म आइपुग्दा सातवटा उद्योग र दुईवटा व्यापारिक फर्म पूर्णरुपमा सञ्चालनमा आउँदा सुनसरी–मोरङ औद्योगिक करिडोरमा मगन्तुराम समूहको सबै क्षेत्रमा राम्रै वर्चस्व थियो । साबुन उद्योग र फलामे डन्डीको उद्योगमा उनीहरुसँग बजारमा प्रतिष्पर्धा गर्ने अर्काे प्रतिष्पर्धी नै थिएन ।
नारायण भेजिटेलब इन्डस्ट्रिजले क्रुट पाम आयात गरी त्यसलाई प्रशोधन गरेर भारतमा निर्यात गर्दै आएको थियो । पामको निर्यातकर्ताको रुपमा राम्रो आम्दानी गरिरहेको उद्योगको पाम आयलमा मिसावट भेटिएर २० करोडको झट्का लागेपछि मगन्तुराम समूहको औद्योगिक यात्रा ओरालो लागेको थियो ।
इन्डोनेसियाबाट २०५७ सालमा कोलकोता बन्दरगाहमा आइपुगेको पाम आयलमा जनावरको बोसो मिसाइएको भेटिएपछि कोलकोता बन्दरगाहले उक्त पाम निकासी गर्न मानेन । इन्डोनेसियाबाट २० करोडमा मगाएको पाम आयलमा निर्यातकर्ताले धोका दिएपछि मगन्तुराम समूहले २० करोड घाटा एकै पटक व्यहोरेको थियो । मिसावट भएको पाम फिर्ता लगे पनि इन्डोनेसियाको ब्यापारीले रकम फिर्ता नगरिदिएछि मगन्तुराम समूह ओरालो लागेको हो ।
एकै पटक ठूलो आर्थिक घाटा व्यहोरेको उक्त समूह २०६० सालसम्म आइपुग्दा बैंकको ब्याज र ऋणबाट थलिएको थियो । २०६३ सालमा राजस्व अपचलन, भन्सार छली र ऋण तिर्न नसकेको अभियोगमा मंगन्तुरामका जेठा र माहिला छोरा सुवोध र सुरेशलाई प्रहरीले पक्राउ गरेपछि चार वर्ष कारागारमा बसेका थिए । त्यसपछि बैंकले उक्त समूहको सबै अचल सम्पत्ति आफ्नो नाममा ल्याएको थियो ।
जेलबाट छुटेपछि सुवोध परिवारसहित भारतमा छन् । माहिला सुरेश कार्टुन र प्लास्टिकको उद्योग चलाएर बसिरहेका छन् । साइला किसन अग्रवाल कलकत्तामा छन् । काइँला दामोदर भारतको पश्चिम बंगाल राज्यको सिलिगुडीस्थित सेबोक रोडको सन्नी टावरमा बसेका छन् । छोरासँग मगन्तुराम पनि छन् । कान्छा नारायण भारतको विहार राज्यको राजधानी पटनामा पसल सञ्चालन गरेर बसेका छन् ।
मगन्तुरामले ब्यापारबाट उद्योग क्षेत्रमा हात हाल्दाका पहिलो साझेदार सुशील धनावतले आर्थिक अनुशासन कायम गर्न नसक्दा उक्त समूहको व्यवसाय ओरालो लागेको बताए ।
उनले कुनै पनि उद्योग, ब्यापार, व्यवसाय सञ्चालन गर्दा सञ्चालकले कडा आर्थिक अनुशासन पालना गरेमा मात्र त्यसले। कोशि अनलाईन