दुहबी/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा. राजकुमार रौनियारको मंगलबार बिहान निधन भएको छ । सुनसरीको दुहबी नगरपालिका–५ स्थायी घर भएका ५९ वर्षीय रौनियार केही महिनादेखि बिरामी भएको र उपचारका लागि भारतको कोलकाताको एक अस्पतालमा भर्ना भएका थिए ।
कोलकातामा उपचारका क्रममा रौनियारको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी मधुमेह र उच्च रक्तचापबाट पीडित थिए ।
स्वर्गीय रौनियारले भारतको केरल युनिभर्सिटीबाट एमबीबीएस, अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) दिल्लीबाट रेडियो डाइग्नोसिसमा एमडी गरेका थिए । उनी सन् १९९३ देखि प्रतिष्ठानमा रेडियोलोजिस्टका रूपमा प्रवेश गरेका थिए ।
नेपाल रेडियोलोजिस्ट संघका अध्यक्ष रौनियार सार्क रेडियोलोजिस्ट संघका समेत अध्यक्ष थिए । लामो समयदेखि रेडियोलोजी विभागको विभागीय प्रमुख भएर काम गरिसकेका रौनियारलाई बीपी प्रतिष्ठानको उपकुलपति भएको केही वर्षपछि भ्रष्टाचार मुद्दामा मुछिए पनि गत महिना मात्र विशेष अदालतले सफाइ दिएको थियो । उनका श्रीमती र एक छोरा छन् । कोलकाताबाट मंगलबारनै दुहबीस्थित घर ल्याइसकिएकोले आज बुधबार १० बजे अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।





