जुगेश दास सुनसरी । देवानगञ्ज गाउँपालिका, सुनसरीमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि मनाेसमाजिक तथा मानसिक स्वास्थ्यसम्बन्धी तीन दिवसीय तालिम २०८१ सालमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त तालिमको आयोजना सम्यक दृष्टिकोण मनाेसमाजिक अध्ययन, अनुसन्धान तथा परामर्श केन्द्र प्रा.लि., सुनसरीले गरेको थियो भने देवानगञ्ज गाउँपालिकाको सहकार्य रहेको थियो।

तालिमको प्रमुख अतिथि देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचन प्रसाद मेहताले तालिमको महत्त्वलाई जोड दिँदै, यस प्रकारका कार्यक्रमहरूले गाउँपालिका क्षेत्रमा मानसिक स्वास्थ्य समस्याहरूको समाधान गर्न ठोस भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आत्महत्या जस्तो संवेदनशील विषयको बढ्दो अवस्था नियन्त्रण गर्न यस्ता तालिमहरूको प्रभावकारी उपयोग गरिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत सुधिर साफीले गाउँपालिकामा आत्महत्या तथा मानसिक तनावका घटनाहरू बढ्दो क्रममा रहेको भन्दै यसलाई न्युनिकरण गर्नका लागि तालिममा सिकाइएका विधि र ज्ञानलाई समुदायमा पुर्याउन महिला स्वयंसेविकाहरूलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “यो तालिमले महिला स्वयंसेविकाहरूलाई मनाेसमाजिक समस्या पहिचान गरी त्यसको समाधान खोज्न सक्षम बनाउनेछ। तपाईंहरूको सक्रिय भूमिकाबाट समाजलाई सकारात्मक दिशा दिन सकिन्छ।”
कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ मनोविज्ञ बिनोद पौडेलले मानसिक स्वास्थ्य समस्याका लक्षण, समाधानका उपाय र समुदायस्तरमा यसका विभिन्न पक्षबारे गहन जानकारी दिनुभयो।
तालिमको समापनका क्रममा सहभागी ८२ जना महिला स्वयंसेविकाहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमको समन्वय मण्डुप्पा राईले गर्नुभएको थियो। कार्यक्रममा वडा नं. ३ का अध्यक्ष अनिल भगत तथा अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
पालिकाका अध्यक्ष मेहताले यस्ता तालिमहरूले गाउँपालिकामा स्वास्थ्य र मानसिक सुदृढीकरणमा दीर्घकालीन प्रभाव पार्ने उल्लेख गर्दै आगामी दिनमा अझै प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
गाउँपालिकाका पदाधिकारीहरूको योगदान र सहभागी स्वयंसेविकाहरूको सक्रियताले कार्यक्रमलाई सफल बनाएकोमा सबै पक्षबाट प्रशंसा व्यक्त गरेका थिए ।
तेसै गरी केही दिन अगाडी मात्र देवानगञ्ज गाउँपालिकामा डिप्रेसनबारे सचेतना कार्यक्रम भएका थिए
देवानगञ्ज गाउँपालिकामा डिप्रेसनजस्तो गम्भीर मानसिक समस्याबारे जागरूकता फैलाउन विशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम सफलतापूर्वक सम्पन्न सम्पन्न भएका थिए ।
कार्यक्रमको मुख्य उद्देश्य डिप्रेसनबारे जानकारी दिनु र यसबाट बच्नका उपायहरू समुदायमा पुर्याउनु थियो ।
कार्यक्रमका प्रमुख अतिथि देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचन प्रसाद मेहता र विशिष्ट अतिथि वडा नं. ३ का वडा अध्यक्ष अनिल भगत रहेका थिए। कार्यक्रममा अध्यक्ष मेहताले आफ्नो मन्तव्य राख्दै डिप्रेसनको समस्या सामुदायिक सहयोग, समयमै उपचार, र मनोवैज्ञानिक परामर्शको माध्यमबाट समाधान गर्न सकिने कुरा उल्लेख गरेका थिए ।
कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ मनोविज्ञ बिनोद पौडेलले मानसिक स्वास्थ्यका विविध पक्षहरूमा प्रकाश पार्नुका साथै डिप्रेसनबाट जोगिने व्यावहारिक उपायहरू प्रस्तुत गर्नुभयो। उहाँले डिप्रेसनलाई प्रारम्भिक रूपमा पहिचान गर्न र समाधान गर्न मानसिक स्वास्थ्यबारे सचेत रहनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा संस्था अध्यक्ष उमेश कुमार थापा र सचिव यसा गुरागाईंले पनि कार्यक्रमको उद्देश्य र महत्त्वबारे जानकारी दिएका थिए ।
कार्यक्रममा देवानगञ्ज गाउँपालिकाका विभिन्न वडाका ८२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरू सहभागी भएका थिए। सहभागीहरूले डिप्रेसनसम्बन्धी ज्ञान र यसको समाधानबारे सिकेर आफ्नो समुदायमा अभियानलाई प्रभावकारी रूपमा फैलाउने प्रतिबद्धता व्यक्त गरेक थिए ।
कार्यक्रमको समन्वय मण्डुप्पा राईले गर्नुभएको थियो। उहाँले कार्यक्रमको तयारी र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
यो कार्यक्रमले समुदायमा डिप्रेसनजस्ता गम्भीर मानसिक स्वास्थ्य समस्याहरूलाई समयमै पहिचान र समाधान गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ। सहभागीहरूले यो कार्यक्रम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका थिए ।
तीन दिने कार्यक्रममा बसहभागीहरूलाई थप ज्ञान प्रदान गर्न विभिन्न कार्यशाला, समूह अभ्यास, र परामर्शका सत्रहरू सञ्चालन गरिनेछ। कार्यक्रमले ग्रामीण क्षेत्रमा मानसिक स्वास्थ्यसम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्दै समुदायमा गहिरो प्रभाव पार्ने अपेक्षा गरिएका थिए ।





