२६ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय टेलिभिजनको प्रशारण रोकेकामा विदेशी च्यानल वितरण मल्टि सिष्टम अपरेटर (एमएसओ) हरुलाई धन्यवाद दिएको छ ।
शुक्रबार विज्ञप्ति निकाले मन्त्रालयले भनेको छ ‘नेपालका मर्यादित संस्था र नेतृत्वलाई लान्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरुको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवाप्रदायकहरुले जिम्मेवारी बोधका साथ स्वतस्फूर्तरुपमा प्रसारण रोकेकोमा मन्त्रालय धन्यवाद व्यक्त गर्दछ।’
मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले विज्ञप्ति जारी गरी आगामी दिनमा पनि सरोकारवालाबाट प्रचलित कानून तथा आचारसंहिता परिपालना गर्नेर गराउने विषयमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।
केही भारतीय टेलिभिजनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको नाम जोडेर समाचार दिएका थिए । उक्त आधारहीन समाचारलाई लिएर भारतीय टेलिभिजन बन्द गर्नुपर्ने माग उठिरहेका बेला कतिपय केवल टेलिभिजन सेवा प्रदायकले भारतीय टेलिभिजनको प्रशारण बन्द गरेका थिए ।
भारतीय सञ्चार माध्यमले कपोलकल्पित, दुरासयपूर्ण एवं भ्रामक समाचार प्रकाशन गरेको भन्दै सञ्चभार मन्त्रालयले पत्रकारिताका न्यूनतम विश्वव्यापी मूल्य, मान्यता र अभ्याससँग मेल नखाने दुष्प्रचारयुक्त सामग्रीहरुले दुई देश बीचको मित्रवत सम्बन्धमा प्रतिकुल प्रभाव पार्न सक्ने बताएको छ ।
आमसञ्चार माध्यमहरुले समाचार प्रकाशनर प्रसारण गर्दा सत्य,तथ्य र बस्तुपरक भई पेशागत आचारसंहिताको परिपालनामा स्वयं प्रतिवद्ध हुनुपर्ने मन्त्रालयले जनाएको छ ।





