रौतहट — रौतहट जिल्लाको मौलापुर नगरपालिकास्थित लक्ष्मीनियाँ माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको एसईई परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । छिमेकी देवाहीगोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साह कानुले आफ्नो सट्टामा परीक्षा दिन लगाएको भन्दै आइतबार प्रहरीले उनका ज्वाइँ कमल साह पक्राउ परेका हुन् ।
नगरप्रमुख साहको नाममा एसईई दिँदै गरेका गरुडा–६ पोठियाहीका साह पक्राउ परेका हुन् । उनी रेडियो नेपाल बर्दिवास सबस्टेसनका प्राविधिक सहायक हुन् । उनी शनिबार बिदा लिएर बसेको उक्त सबस्टेसन प्रमुख रामपुकार रामले जानकारी दिए । लक्ष्मीनिया माविमा सञ्चालन भइरहेको एसईई परीक्षामा नगरप्रमुख साहको स्थानमा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।
‘हामीले पनि नगरप्रमुख साहको सट्टा परीक्षा दिन बसेको भन्ने सुनेका हौं,’ उनले भने, ‘वास्तविकता चाँडै खुल्छ । नक्कली परीक्षार्थी र आफ्नो साटो अरुलाई परीक्षा दिन लगाउने दुवैलाई कानुनबमोजिम कारबाही हुन्छ ।’ अनुमगन टोलीले उनलाई केरकार गरेपछि उनले नगरप्रमुखको परीक्षा दिएको प्रमाणित भएको उनले जनाए ।
नगरप्रमुख साह गत वर्ष छिमेकी मौलापुर नगरपालिकास्थित पथराबुधराम माविबाट कक्षा ९ मा भर्ना भएका थिए । भर्ना भए पनि उनी एक दिन पनि विद्यालयमा पढ्नका लागि उपस्थित नभएको मथराबुधराम माविका प्रधानाध्यापक राजेश पटेलले जानकारी दिए ।
नगरप्रमुख साहमात्र होइन, एक दिन पनि हाजिरै नभई एसईई दिने धेरै विद्यार्थीहरू छन्,’ उनले भने, ‘अब यस्तै हो । मैले पनि नगरप्रमुखको ज्वाइँ पक्राउ परको भन्ने समाचार सुनेँ
गत पुसमा उक्त विद्यालयमा सरुवा भई आएका प्रअ पटेलले नगरप्रमुख कुनै पनि दिन विद्यालय आएको आफूले नदेखेको बताए । ज्वाइँ पक्राउ परेको घटनापछि नगरप्रमुख साहले कसैको सम्पर्कमा आउन चाहेका छैनन् ।
परीक्षा दिने र दिन लगाउने दुवैलाई ६ महिना कैद, एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने कानुनी प्रावधान रहेको छ ।





