मोरङ/ कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिइरहेको विराटनगर महानगर सेरोफेरोमा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रशासनले आइतबार बिहानबाट लागू हुनेगरी निषेधाज्ञा जारी भएको हो ।
माेरङका प्रमुख जिल्ला अधिकारी काेषहरि निराैलाका अनुसार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाकाे वडा नम्बर १,२,३ र ४ मा एक साताका लागि निषेधाज्ञा जारी भएकाे हाे । अन्य पालिकाहरूमा सङक्रमण दर कम भएका कारण निषेधाज्ञाकाे निर्णय नभएकाे उनले बताए ।
शुक्रबार बसेकाे बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक सेवा तथा वस्तुसँग सम्बन्धित बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएकाे उनले बताए ।
सवारीसाधनलाई पूर्ण रूपमा आवतजावत गर्न रोक लगाइने बताउँदै उनले दैनिक उपभाेग्य वस्तुका पसल बिहान १० बजेसम्मका लागि खाेल्न दिने निर्णय भएकाे जानकारी दिए । ‘सरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सेवा पनि बन्द हुनेछ,’निराैलाले भने, ‘अवस्थाअनुसार थप निर्णय हुनेछ ।
निषेधाज्ञाको अवधिमा औषधि, खाद्यवस्तु, इन्धनलगायत अत्यावश्यक वस्तु तथा सेवाहरु खरिद गर्न बाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ । खाद्यवस्तु, खाना पकाउने इन्धन, तरकारी, डेरी सम्बन्धी पसल र निर्माण सामग्रीका पसलहरु बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।
दैनिकरुपमा नित्य गरिने पूजा प्रार्थना बाहेक सबै धार्मिक सांस्कृतिक कार्य, मेला, चाडपर्व, हाटबजार, लगायत सामुहिक गतिविधि नगर्न पनि जिल्ला प्रशासन कार्यालय मोरङले आदेश दिएको छ ।
निषेधाज्ञाको समयमा अत्यावश्यक सेवामा प्रयोग हुने विद्युत, खानेपानी, सञ्चार, बैक, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, पशुआहार ढुवानीका साधन, एम्बुलेन्स, शव वहान, सरकारी नम्बरका साधनहरुबाहेक अन्य सञ्चालन नगर्न भनिएको छ ।
छिमेकी मुलुक भारतस“ग हुने आवागमन पूर्णरुपमा बन्द गर्ने, रातिको समयमा ८ बजेदेखि विहान ५ बजेसम्म हिडडुल गर्न नपाइने, उपभोग्य वस्तुको कृतिम अभाव सिर्जना गरे कानून बमोजिम कारवाही हुने, होटल रेष्टुरेन्टहरु होम प्याक तथा होम डेलिभरी प्रयोजनका लागि मात्र खुला रहने छन् ।