विराटनगर, २८ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको पहिलो दिन आज (शुक्रबार) काग तिहार परेको छ ।
कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो परिकार खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने शास्त्रिय मान्यता भएकाले आज काग तिहार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने गरिएको हो ।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ ।
कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ । सबैले आआफ्नो घरमा र मठ मन्दिरमा कागको विशेष पूजाआजा गर्दै कागलाई मीठो खानेकुरा दिने गरिन्छ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ । आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।
तिहारमा काग, कुकुर, गाई, गोवद्र्धन, दाजुभाई र दिदी बहिनीका अतिरिक्त बलिराजाको पनि पूजा गर्ने धार्मिक विधि छ । बलि राजाको पूजाका सम्बन्धमा एउटा किम्बदन्ती पनि प्रचलित रहेको छ । जसअनुसार प्राचीन वैदिक कालमा असुरराज बलिले पृथ्वीमा शासन गर्थे, उनी दानी राजाका रुपमा कहलिएका थिए ।
भगवान् विष्णुले वामन अवतार धारण गरी बलि राजासँग ब्राह्मणको भेष धारण गरी तीन पाउको स्थान माग गर्दा एक पाउले अन्तरिक्ष, अर्को पाउले पृथ्वी ढाकेपछि तेस्रो पाउ राख्ने ठाउँ माग गर्दा बलि राजाले शिर थापेको र शिरमाथि वामन रुप धारी भगवान विष्णुले पाउ राख्दा पातालमा भासिएको कथा पुराणमा वर्णन गरिएको छ ।
भगवान् विष्णु बलि राजाको दानशीलतादेखि प्रभावित भई वर्षमा पाँच दिन कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पृथ्वीको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वास छ । यस समयमा बलि राजाको पूजा गरेमा भगवान् विष्णुले आफू प्रसन्न हुने वरदान दिएकाले यस पर्वमा बलि राजाको पूजा गर्ने गरिएको धर्मशास्त्रविद् प्रा. डा गौतमले बताए ।
यही मान्यताका कारण आजकाल पनि देउसी भैलो खेल्दा ‘हामी त्यसै आएनौँ बली राजाले पठाए’ भनी भट्याउने गर्छन् । लक्ष्मी पूजाका दिनमा भैलो र गोवद्र्धन पूजाका दिनमा देउसी खेल्ने प्राचीन परम्परा भए पनि आजकाल काग तिहारकै दिनदेखि नै देउसी भैलो खेल्ने प्रचलन बढ्न थालेको छ । भैलो महिलाले र देउसी पुरुषले खेल्ने प्रचलनसमेत अहिले बदलिएको छ । अहिले महिला पुरुष दुवैले देउसी भैलो खेल्न थालेका छन् ।
तर यस वर्ष कोरोना महामारीका कारण देउसी भैलो नहुने भएको छ । विगत जस्तो तिहारमा हर्षोल्लास हुने छैन । कोरोनाबाट बच्न सामाजिक दूरी कायम गर्नुपर्ने र भीडभाड गर्न नहुने स्वास्थ्य मापदण्डका कारण यस वर्ष चाडपर्व निक्कै खल्लो भएका छन् ।