काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमणबारे सबै स्थानीय तहलाई समयमै आवश्यक र यथेष्ट जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।
आयोगका सचिव एवं प्रवक्ता वेदप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ताले हरेक दिन संक्रमणको अवस्था सम्बन्धमा जानकारी दिँदा काठमाडौं लगायत अन्य ठूला शहरको कुन क्षेत्र र व्यवसायका व्यक्तिहरुमा संक्रमण देखियो भन्नेसमेत स्पष्ट गरेको खण्डमा स्थानीय तहहरुलाई थप सजगता अपनाउन मद्दत मिल्ने प्रष्ट पारेका छन् ।
आफ्नो इलाकाभित्रका कोभिड–१९ बाट संक्रमित भएका व्यक्तिहरुको सूचना जिल्ला जनस्वास्थ्य कार्यालय तथा स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुन नसकेको कारण आफ्नो क्षेत्रभित्र कहाँ र के कति संख्यामा संक्रमितहरु रहेका छन् र परिवार तथा समुदायको संरक्षणको लागि के कस्तो पहल गर्नु पर्ने भन्ने जानकारी प्राप्त हुन नसकेको गुनासो कतिपय स्थानीय तहबाट प्राप्त हुन आएको छ
विज्ञप्तिमा भनिएको छ, ‘अतः संक्रामक रोग समुदायस्तरमा फैलनबाट रोक्न, आम नागरिकको स्वास्थ्यको अधिकार र भयरहित वातावरणमा बाँच्न पाउने अधिकार संरक्षणका लागि संवेदनशील हुन आयोग सबै स्थानीय तह तथा नेपाल सरकारलाई आग्रह गर्दछ





