जुगेश दास सुनसरी । तराईका किसानहरूले यस वर्ष लगाएको तरकारी बालीको उचित मूल्य नपाउँदा ठूलो आर्थिक मार खेप्नु परेको छ। एकातिर मलखादको अभाव र यसको बढ्दो मूल्यले उत्पादन लागत बढाएको छ भने अर्कोतर्फ बजारमा तरकारीको अत्यन्तै न्यून मूल्यले किसानहरूको अवस्था जर्जर बन्दै गएको छ।
किसान पशुराम मेहताका अनुसार, अहिले सेतोकोबी प्रतिकिलो मात्र पाँच रुपैयाँ, ब्रोकौली १० रुपैयाँ, र बन्दा २० रुपैयाँ प्रतिकिलोमा बिक्री गर्नुपर्ने बाध्यता रहेको छ। यति कम मूल्यले उत्पादन लागतसमेत उठ्न नसकेको किसानहरूले गुनासो गरेका छन्।
तरकारी उत्पादनको समयमा सरकारले अनुदान दिएर खेती लगाउन प्रोत्साहित गरे पनि उत्पादित बालीको उचित बजार व्यवस्थापनमा ध्यान नदिएको किसानहरूको आरोप छ। “मलखाद बोर्डर पारिबाट महँगो मूल्यमा ल्याउनुपर्ने, मजदुरको ज्याला तिर्नुपर्ने र बजारमा न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताले हामी किसानहरू निराश छौँ,” मेहताले भने।
किसानहरूको माग छ कि सरकारले कृषि उपजको मूल्य समायोजन गरी उचित बजार व्यवस्थापन गरिदिनुपर्छ। कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन र किसानहरूको हकहित सुरक्षित गर्न यसतर्फ तत्काल ध्यान दिनुपर्ने उनीहरूको आग्रह छ।




