जुगेश दास देवानगञ्ज । सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका वडा नं. २ स्थित भगत पेट्रोल पम्पमा ग्राहक ठगिएको घटना सार्वजनिक भएको छ। स्थानीय किसानहरूले ५ हजार रुपैयाँको डिजेल किन्दा ५ लिटर डिजेल कम पाइने गुनासो गरेका छन्।
किसान संजित मेहताका अनुसार खेतको काममा व्यस्त हुँदा आफ्ना छोराछोरीलाई नजिकैको तेल पम्पबाट डिजेल ल्याउन पठाउने गरेका थिए। तर, पटक–पटक ५ लिटर डिजेल कम पाइने समस्या भएपछि उनी आफैं डिजेल किन्न गए। त्यहाँ पनि ५ लिटर डिजेल कम भएपछि उनले पम्पका कर्मचारीहरूलाई गुनासो गरे।
गुनासो गर्दा कर्मचारीहरूले गुण्डागर्दी शैलीमा व्यवहार देखाएको उनले बताए। पछि, पम्पका प्रमुख दिपनारायण भगतले दोब्बर डिजेल दिएर कुरा मिलाउने प्रयास गरे।
घटनाको जानकारी पाएपछि नेपाल आयल निगमका प्राविधिकहरूले उक्त पेट्रोल पम्पलाई सिलबन्द गरेका छन्। आयल निगमका प्राविधिकका अनुसार महिनैपिच्छे पम्पहरूको चेकजाँच हुने र नापतौलका औजारहरूको अवस्था जाँच गरिने भए पनि यस पम्पमा प्राविधिक समस्या देखिएको छ।
पम्प सञ्चालक दिपनारायण भगतले यस विषयमा प्रतिक्रिया दिँदै भने, “मेसिनरी उपकरणहरू कहिलेकाहीं बिग्रने सम्भावना हुन्छ। यसबारे आयल निगमलाई समयमै जानकारी गराएका थियौं। अहिले पम्पलाई पूर्ण रूपमा सिल गरिसकिएको छ। समस्या समाधान नभएसम्म पम्प सञ्चालन गरिने छैन।”
स्थानीय किसानहरूले भने पम्प सञ्चालक र कर्मचारीहरूको गलत व्यवहारको कडा कारबाही हुनुपर्ने माग गरेका छन्। ग्राहक ठगीको यस्तो घटना पुनः नदोहोरियोस् भन्नका लागि आयल निगमले थप निगरानी र कडा कदम उठाउने प्रतिबद्धता जनाएको छ।




