जुगेश बाबू दास / सुनसरी
सुनसरीको देवानगञ्ज बजारमा खाद्य सुरक्षा अनुगमन अभियान अन्तर्गत म्याद गुज्रिएका सामग्री नष्ट गरिएको छ। इनरुवास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले स्थानीय किराना पसल र दुई होटलमा छापा मार्दै अनियमितताहरू सार्वजनिक गरेको हो।
अनुगमन टोलीको नेतृत्व डिभिजन प्रमुख शौरभ श्रेष्ठले गरेका थिए। टोलीमा खाद्य निरीक्षक उज्ज्वल कोइराला, कृषि सेवा शाखाका प्रमुख गुलाबचन्द मेहता, इलाका प्रशासन कार्यालय हरिनगरका नासु सगमलाल चौधरी, र इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक कमल बिष्ट पनि सहभागी थिए।
अनुगमनका क्रममा विभिन्न किराना पसल र होटलमा म्याद गुज्रिएका खाद्य सामग्री फेला परेका थिए। डिभिजन प्रमुख श्रेष्ठका अनुसार यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले ती सामग्री तुरुन्त नष्ट गरिएको हो।
सम्बन्धित व्यवसायीलाई पहिलोपटक सचेत गराउँदै कानूनअनुसार कारबाहीको प्रक्रिया सुरु गरिने चेतावनी दिइएको छ। अनुगमन टोलीले व्यवसाय दर्ता, भण्डारण विधि, र म्याद सकिएका सामग्रीमा ध्यान दिन पुनः आग्रह गरेको छ।
अनुगमन टोलीले व्यवसायीलाई उपभोक्ताको स्वास्थ्यप्रति सतर्क रहन आग्रह गर्दै सुधारका लागि मौका दिएको छ। साथै, खाद्य सुरक्षा सुनिश्चित गर्न यस्ता अनुगमन अभियान आगामी दिनमा पनि नियमित रूपमा सञ्चालन गरिने डिभिजन कार्यालयले जनाएको छ।
देवानगञ्जका स्थानीयवासीले यस्ता अनुगमन अभियानको प्रशंसा गर्दै स्वास्थ्य सुरक्षामा ध्यान दिन व्यवसायीहरूलाई अपिल गरेका छन्।




