दुहबी / सवारी दुर्घटना न्यूनीकरण गर्न सुनसरीको दुहबी ट्राफिक प्रहरीले सवारी साधनमा रिफ्लेक्टर (टल्कने वस्तु) टाँस्ने, स्पष्ट नम्बर प्लेट बनाउने, चालकले टल्कने पोसाक लगाउने लगायत अभियान सञ्चालन गर्दै आएको छ।

तराईमा चिसो बढेसँगै बाक्लो हुस्सु लाग्न थालेको छ। हुस्सुका कारण हुन सक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न दुहबी ट्राफिकले अभियान थालेको हो।
ट्राफिक प्रहरी कार्यालय, दुहबीका प्रमुख प्रनाबनि जोगेन्द्र प्रधान का अनुसार दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापन विभागले विभिन्न कार्यक्रम गर्दै आएको छ।

सवारी दुर्घटना न्यूनीकरणका लागि पैदल यात्री, विद्यार्थी तथा सवारी चालकलाई सडक सुशासन, सडक लेन, ट्राफिक नियमबारे ‘साँघुरो सडकमा अव्यवस्थित तवरबाट सवारी चलाउने र जथाभावी बाटो काट्ने प्रवृत्तिले दुर्घटना बढेपछि ट्राफिक प्रहरीले ‘अन द स्पट’ कक्षा सञ्चालन थालेको छ।
सडकमै उनीहरूलाई जम्मा गरेर ट्राफिक नियम, जरिवाना, सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता किताबका बारेमा जानकारी दिँदै आएका छौं।’
पछिल्ला केही दिनदेखि तराई क्षेत्रमा चिसो बढेसँगै बाक्लो हुस्सुले गर्दा हुनसक्ने दुर्घटनालाई ध्यानमा राख्दै सवारी साधानहरूमा ‘रिफ्लेक्टर स्टिकर’ टाँस्न थालिएको छ।
रिफ्लेक्टर स्टिकर’ टाँस गर्नुका साथै नम्बर प्लेट स्पष्ट नभएका सवारी साधनमा नम्बर लेख्ने अभियान जिल्लाभर सुरु गरेका हौं। हुस्सु र रातिको समयमा सवारी साधन स्पष्ट नदेखिँदा दुर्घटना हुने भएकाले ‘रिफ्लेक्टर स्टिकर’ टाँसेपछि परबाटै लाइट पर्दा टक्लने हुँदा दुर्घटनामा कमी हुन्छ।’
सडकमा छाडिएका चौपायाको घाँटी, सडकबिच भागमा राखिएको डिभाइडर, साइकलको पछाडिको भाग र अन्य सवारीसाधनको पछाडिको भागमा टल्कने ‘रिफ्लेक्टर स्टिकर’ टाँस्ने, पैदल यात्रुलाई सडक छेउबाट हिँड्न लगाउने, सवारी साधनका बत्ती दुरुस्त बनाउन लगाउने जस्ता अभियान थालेको बताउँदै, प्रधानले भने, ‘राति गाईवस्तु नदेखिने, सडकका खाल्डाखुल्डी र अत्यधिक तीव्र गतिमा सवारी चलाएका कारण दुर्घटना बढी हुने गरेको पाइएको छ। बत्तीको उज्यालो परेपछि स्टिकर टल्कने हुँदा दुर्घटना कम गर्न सहयोग पुग्ने आशा गरेका छौं।’
सडकमा सवारी अनुसारको लेन छुट्याउने, तीव्र गतिका सवारीलाई कडा कारबाही गर्ने, जथाभावी बाटो काट्न नदिने जस्ता काम कडाइका साथ सम्बन्धित निकायले कार्यान्वयन गरे दुर्घटनामा केही कमी आउने प्रधानले बताए।





