इनरुवा,। सुनसरीको इनरुवामा एक महिलाको हत्या भएको छ । इनरुवा-३ मा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपिन रेग्मीकाअनुसार सुनसरीको इनरुवा नगरपालिका ३ की २३ वर्षीया निकिता चौधरीको श्रीमान ३२ वर्षीय नागेन्द्र भगतले हत्या गरेको मृतकका आफन्तले आरोप लगाएका छन्।
निकिताका भाई राकेश चौधरीले दाइजोका नाममा भिनाजु भगतले जानीजानी घाँटी थिचेर दिदीको हत्या गरेको आरोप लगाएका छन्। दाइजोका विषयमा विवाद भएपछि गएराति १० बजेको समयमा भगतले घरको सुत्ने कोठामा निकिताको घाँटी थिचेर हत्या गरेको राकेशको दाबी छ ।
निकिता र भगतको विवाह भएको २१ महिना भएको थियो। भगतले विवाह गरेको २१ महिनापछि थप दाइजो ल्याउन निकितालाई दबाद दिएर यातना दिने गरेको भाइ राकेशले बताएका छन्।
निकिताको मृत्युपश्चात माइती पक्षले दाइजोको निहुँमा निकिताको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा कर्तव्य ज्यान सम्बन्धी जाहेरी दिएका छन्। माइती पक्षको उजुरीका आधारमा आरोपित भगतलाई पक्राउ गरी घटनाको अनुसन्धान थालिएको एसपी रेग्मीले जानकारी दिए । निकिताका ११ महिनाका छोरा छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।