दुहबी / सुनसरीको दुहबीमा गाई भैँसीमा ‘लम्पि स्किन’ ( एक प्रकारको सङ्क्रामक सरुवा रोग ) देखापरेपछि यहाँका किसान चिन्तित बनेका छन् ।
दुहबी ९ , १० , ११ लगायत वडाहरुमा गाई भैँसीमा यो रोग बढी देखिएको छ ।
असोज महिना देखि फाट्टफुट्ट ‘लम्पि स्किन ’ रोग देखा परेकोमा अहिले जिल्लाका विभिन्न पालिकामा फैलिरहेको किसानहरु बताउछन दुहबी नगरपालिकामा गाई भैँसीमा यो रोग फैलिदै गएर हाल सम्म ३ पशुको मृत्यु भएको किसानहरुले बताए ।
पशु चौपायामा लम्पि स्किन रोग देखा परेपछि किसान भने महामारीकै रूप लिने हो कि भनेर चिन्तित छन् ।
पशु चौपायामा लम्पि स्किन रोग देखा परेपछि किसान भने महामारीकै रूप लिने हो कि भनेर चिन्तित छन् ।
दुहबी नगरपालिकाका पशु शाखा प्रमुख शिव हरी अधिकारी संग बुझदा हाल सम्म रोग विरुद्धको खोप उपल्बध नभएकाले रोकथामका सुझाव–परामर्श मात्र दिने गरेको बताए ।
अधिकारीका अनुसार अरु स्थानीय तह लाई खोप उपल्बध गराएता पनि दुहबी लाई भोलि आईतवार मात्र खोप उपल्बध हुने बताए ।
गाई भैँसीमा ‘लम्पि स्किन ’ रोग लागेमा जरो आउने, झोक्राउने, खाना नखाने, दुधालु पशुमा दूध एकदमै धेरै घटेर जाने, ज्यानभरि खटिरा आउने र एक÷ दुई प्रतिशत सम्म पशुहरूको मृत्यु हुने गरेको दुहबी पशु शाखाले जानकारी दिएका छन ।
उता सरकारले मुलुकभर फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न हालसम्म एक लाख ८० हजारभन्दा बढी पशुमा यसको खोप लाउने कार्य सम्पन्न गरेको छ । लम्पी स्किन गाईभैँसीमा भाइरसको कारण लाग्ने महामारी रोग हो ।
सरकारले प्रभावित पशुको उपचारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक परिचालन गरेको पशु सेवा विभागका महानिर्देशक डा.सम्झनाकुमारी काफ्लेले बताउनुभएको छ । साथै खोप आपूर्तिका लागि आयात अनुमति प्रदान गरी हालसम्म १० लाख ३७ हजार मात्रा खोप आयात भई सात वटै प्रदेशमा वितरण गरिसकिएको छ ।
विभिन्न जिल्लामा एक लाख ८० हजार एक सय २२ पशुमा खोप कार्य सम्पन्न भएको विभागको तथ्याङ्क छ । महानिर्देशक डा.काफ्लेका अनुसार यस रोगको उपचार विधि र यसबारे बारम्बार सोधिने प्रश्नउत्तरको सङ्गालो तयार गरी विभागको वेबसाइटसमेतमा राखिएको छ । प्रदेश तथा स्थानीय तहसँग समन्वयका लागि प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोकिएको छ ।
सरकारले चालु आर्थिक वर्ष (२०७९-८०) मा नै खर्च गर्ने गरी महानगरपालिका र सङ्क्रमण नफैलिएका जिल्लाबाहेक प्रत्येक स्थानीय तहमा महामारी नियन्त्रण गर्न सङ्घीय सःशर्त अनुदानअन्तर्गत रु एक लाखका दरले रकम विनियोजन गरेको छ । सो रकमबाट यथाशीघ्र औषधि उपचार तथा खोप खरिद कार्य गर्न सबै पालिकालाई अनुरोध गरिएको छ ।
नेपालमा यो रोग पहिलो पटक विसं २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकाका गाईमा देखा परी हालसम्म ७६ जिल्लामा यो रोग पुष्टि भएको छ । यस रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका मध्यपहाडी तथा पहाड़ी क्षेत्रमा रहेका पशु बढी प्रभावित भएका छन् ।
हालसम्म सङ्क्रमति सात लाख नौ हजार दुई सय तीन पशुमध्ये चार लाख ५३ हजार आठ सय १९ निको भइसकेका छन् । यस्तै २५ हजार सात सय ८२ पशु मरेका छन् । हाल दुई लाख २९ हजार छ सय दुई पशु सक्रिय सङ्क्रमति छन् र सङ्क्रमणको दर क्रमशः घट्दै गएको महानिर्देशक डा काफ्लेले बताउनुभयो छ ।
यस रोगको महामारी नियन्त्रणका लागि विभाग र मातहतका निकाय, प्रदेश सरकार मातहतका निकाय तथा स्थानीयतहमा कार्यरत पशु स्वास्थ्यकर्मी परिचालित रहेका छन् । यस क्रममा अन्य सरकारी निकाय, निजी क्षेत्रमा कार्यरत पशु स्वास्थ्य कर्मीलगायतका सरोकारवालासँग समन्वय गरी रोग रोकथाम तथा नियन्त्रणका उपाय अवलम्बन गरिएको विभागले जनाएको छ ।
विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापनासहित प्रभावित क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि टोली परिचालन गरिएको छ ।