दुहबी / सुनसरीको गढी गाउँपालिकाले २०८०÷८१को लागि ४० करोड ७१ लाख ९१ हजार ४ सय रुपैयाको बजेट गाउँसभामा पेश गरेको छ ।
आइतवार ११ औं गाउँसभामा पालिकाको आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रमुख आशनारायण चौधरी र बजेट विनियोजन उपाध्यक्ष अनिताकुमारी साहले प्रस्तुत गरेका थिए ।
प्रस्तुत बजेटमा आम्दामीतर्फ संघीय सरकारको समानिकरणबाट ११ करोड ६३ लाख, संघीय राजस्व वाँडफाँडतर्फ ८ करोड ९६ लाख २९ हजार ४ सय, सशर्त अनुदानतर्फ १७ करोड २४ लाख र समपुरक अनुदानतर्फ ७५ लाख रुपैया उल्लेख छ ।
त्यस्तै कोशी प्रदेशबाट समानिकरण अनुदानतर्फ ७३ लाख ७ हजार, समपुरक अनुदानतर्फ १ करोड, प्रदेश राजस्व बाँडफाँडतर्फ ४० लाख ५५ हजार , आान्तरिक स्रोतबाट १ करोड रुपैया प्राप्त हुने उल्लेख छ ।
त्यस्तै खर्चतर्फ पूर्वाधार विकासमा १० करोड २५ लाख रुपैया विनियोजन गरिएको छ । जसमध्ये बाटो मर्मतका लागि २० लाख, त्यस्तै गाउँपालिकाको प्रशानिक भवन निर्माणको लागि १ करोड ५० लाख, विपन्न नागरिकको आवास निर्माणको लागि २५ लाख रुपैया विनियोजन गरेको छ । त्यस्तै पलिकाले आगामि आर्थिक वर्ष २० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिदै ५ करोड रुपैया विनियोजन गरेको छ । त्यस्तै बहुबर्षिय योजनाको रुपमा रहेको कालि मन्दिर जोड्ने सडकको लागि दुई करोड रुपैया विनियोजन गरेको छ ।
स्वास्थ ,सुन्दर ,समानतामुलक र समृद्ध गढी भन्ने नारा तय गरिएको बजेटमा कृषिको ब्यवसायिकरण, आधुनिककिकरण र उत्पादनमा आधारित अनुदान तथा प्राविधिकरणमा जोड दिने, व्यवसायीक पशुपालनमा जोड दिने, पर्यटन क्षेत्रको बिकास र प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखी बिकास गर्ने लगायतका नीति लिईएको छ ।





