दुहबी/ १ वर्ष अघि खोलीएको दुहबीको श्री गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रथम वर्षमै निक्षेप रकम संकलन ५१ लाख ९७ हजार पुर्याएको छ। प्रथम साधारणसभा दुहबी वडा नम्वर ३ स्थित श्री गणेश सहकारीको कार्यालय परिसरमा शनिवार आयोजित प्रथम साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीमा निक्षेप संकलन ५१ लाख ९७ हजार पुगेको हो ।
साधारणसभामा संस्थाका अध्यक्ष जिवन प्रसाद लुइटेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै यस अवधिमा यस सहकारीप्रति बढ्दो विश्वासनियताको फलस्वरुप निक्षेपकर्ता पनि बढ्दो रहेको बताउँदै पहिलो वर्षको अन्त सम्म आइ पुग्दा २ सय ८९ शेयर सदस्य रहेको सहकारीको संस्थागत आर्थिक र सामाजिक रुपमा पनि सशक्त र सबल रुपमा उभिएको बताए ।
सहकारीले निम्न आय भएका वर्ग, समुदायलाई आर्थिक रुपमा सवल बनाउन उत्पादन मूलक र व्यापारिक क्षेत्रमा ऋण प्रवाह गरेको अध्यक्ष लुइटेलले बताए । प्रथम साधारण सभामा प्रमुख अतिथि सुनसरी जिल्ला सहकारी संघका संचालक समितिका सदस्य लक्ष्मण कार्कीले सहकारीको सफलता यस्का निक्षेपकर्ताहरुको आत्मनिर्भरता सँग गाँसिएको हुने भएकोले सम्पूर्ण सदस्यहरुले आत्मसाथ गर्दै जानुपर्ने सुझाव दिए ।
उनले सहकारी विना आर्थिक संम्वृद्धि नहुँने भन्दै रचनात्मक र उत्पादनमुखी व्यवसायमा लगानि गर्नुपर्नेमा जोड दिए । सो अवसरमा श्री गणेश सहकारी संस्था लाई विशेष योगदान पुर्याउने संस्थाका उत्कृष्ठ कर्मचारीहरु असल ऋणि र असल बचतकर्ता लगायतलाई सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष मोतीलाल चौधरीले दिएका थिए भने कार्यक्रम सञ्चालन संस्थाका कार्य समिति सदस्य ऋषि साहले गरेका थिए ।







