इनरुवा / राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अनुसन्धान उप निर्देशक (एसपी) नगेन्द्र दाहालको फेसबुक ह्याक गरी रकम ठगी भएको पाइएको छ ।
दाहालको आइडीको प्रयोग गरी मोबाइल बैंकिङको माध्यमबाट रकम ठगी गरेको पाइएको हो । एसपी दाहालको फेसबुक म्यासेन्जरबाट पत्रकार सँग रकम माग गरेको भेटिएपछि फेसबुक ह्याक भएको विषय बाहिरिएको हो ।
नगेन्द्र दाहालको आइडीबाट इनरुवाका पत्रकार अमर काफ्लेको म्यासेन्जरमा एघार हजार एक सय रुपैंया साँझ सम्म फिर्ता गर्ने भनि पठाउन भनिएको थियो ।म्यासेन्जरको चाटमा संगत आङबुहाङको नाममा नबिल बैंकको ०१६१००१७५१३६०६ खाता नम्बरमा रकम पठाउन भनिएको थियो ।
रकम पठाएको फोटो समेत पठाउन काफ्लेलाई भनिएको थियो । उक्त म्यासेजको विषयमा शंका लागि पत्रकार काफ्लेले एपसी दाहालसँग फोन गरी बुझेका थिए ।
सो क्रममा एसपीले आफुले कोही कसैलाई सो व्यहोराको म्यासेज नपठाएको भन्दै आफ्नो फेसबुक ह्याक भएको हुन सक्ने आशंका जताएका थिए ।
त्यस लगत्तै स्वयं एसपी दाहालले सामाजिक सञ्जालमा आफ्नो फेसबुक ह्याक भएको व्यहोरा उल्लेखित स्टाटस लेख्दै फोन सम्पर्क गर्नुहोला भनेका छन् ।
घटना सँग समवन्धित रहेर ह्याकरको खोजी थालिएको अनुसन्धान उप निर्देशक (एसपी) दाहालले बताए । उनले यसअघि पनि इसेवा र मोबाइल बैकिङका नामबाट रकम ठगी भएको घटना बाहिरिएकाले ठगी कार्यमा गिरोहनै सकृय रहेको हुन सक्ने बताए ।
एसपी दाहालको आइडीबाट मोबाइल बैंकिङ मार्फत रकम माग गरेको भरमा केहि व्यक्ति ठगीमा समेत परिसकेको पाइएको छ । दाहालले कोही कसैलाई म्यासेजको भरमा परी रकम नपठाउन भनेका छन् । उनले शंका लागेमा आफुलाई सम्पर्क गरी जानकारी गराउन आग्रह गरेका छन् ।





