श्रृजना लुईटेल,सुनसरी / प्रदेश नं.१ मा बालविवाह बढेसँगै किशोरी अवस्थामै आमा हुनेहरूको सङ्ख्या पनि बढ्दो छ । कानूनमा २० वर्षअघि विवाह गर्न पाइँदैन । तर, सुनसरी जिल्ला अस्पतालमा प्रसूति गराउन आउनेमध्ये एक तथ्यांक अनुसार १३ दशमलव ३ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ । २० वर्षभन्दा कम उमेरमा गर्भवती भएका किशोरीहरूको विवाह भने १४ देखि १८ वर्षमा भएको पाइएको अनुमान छ ।
अधिकांश किशोरीलाई शल्यक्रियामार्फत सुत्केरी बनाउनुपर्ने बाध्यता त्यसैका कारण भइरहेको बिभिन्न तथ्यांकले देखउँछ । “उमेरै नपुगी विहे गर्ने धेरैजनाको पाठेघर खस्ने समस्या देखिनुका साथै अन्य गम्भीर स्वास्थ्य समस्या पनि देखिन चिकित्सकहरू बताउँछन् । कम उमेरमा सन्तान जन्माउँदा मातृ–शिशु मृत्युदरको उच्च जोखिम समेत रहन्छ ।
अस्पतालमा प्रसूति सेवाका लागि आउने महिलाहरूको तथ्यांकमा प्रसूति गराउनेमध्ये केही १४ वर्ष उमेरका किशोरी पनि भेटिने गरेका छन् ।
आर्थिक वर्ष २०७६/७७ मा नै सय ५ महिला आमा बनेका छन् । तीमध्ये एक सय ३ किशोरी २० वर्ष नपुग्दै आमा बनेको बिभिन्न अस्पतालको तथ्यांकले देखाएको छ । “पहिले पहिले महिनावारी नहुँदै छोरीको विवाह गरिदिनुपर्छ भन्ने थियो, त्यो गलत संस्कार अझै पनि कतिले छाडेका छैनन् । देखासिकी र घरपरिवारको दबाबले पनि सानै उमेरमा विवाह भइरहेको छ । अभिभावकले बालबालिकालाई निगरानीमा नराख्दा पनि हुने आफूखुसी विवाहमा उमेर नपुगेकाहरू भेटिने गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले स्थानीय तहसँग समन्वय गरेर बालविवाह नियन्त्रण अभियान सञ्चालन गरिरहेको जनाएको
छ । बालविवाह गर्ने र गराउनेलाई कारबाही गर्दै आए पनि रोक्न सजिलो नभएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घरायसी वातावरण, परम्परागत संस्कार र सञ्चार माध्यमको बढ्दो प्रयोगले कम उमेरमा विवाह गर्ने क्रम बढेको पाइन्छ । – प्रशिक्षार्थी





