विराटनगर । सम्पर्कविहीन भएका कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई विराट नर्सिङ होम (विराटनगर अस्पताल) ले लुकाएको पाइएको छ ।
विराट नर्सिङ होममा स्वाब संकलन गरिएका ५० वर्षका पुरुषमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । तर प्रयोगशालामा टिपाइएका नाम, ठेगाना र टेलिफोन नम्बरका आधारमा प्रहरी र विराटनगर महानगरपालिकाको स्वास्थ्य शाखाको टोलीले आइसोलेसनमा ल्याउन संक्रमितको खोजी गरेपनि भेट्टाउन सकेको थिएन ।
तर अस्पतालले नै स्वाब संकलन गरी प्रयोगशालामा पठाउँदा नाम, ठेगाना, उमेर र मोवाइल नम्बर गलत राखेको पाइएको छ । स्रोतका अनुसार स्वाब संकलन गरेका व्यक्ति अस्पतालकै अधिकारी थिए । तर उनलाई लुकाउन प्रयोगशालामा स्वाब पठाउँदा विवरण गलत राखिएको थियो ।
बिहीबार प्रहरीले अस्पतालका कर्मचारीलाई केरकार गर्दा अस्पतालले झुटो विवरण पठाएको खुलेको हो । अहिले संक्रमितको पहिचान भएको छ ।संक्रमितलाई अस्पताल भर्ना गर्ने तयारी भइरहेको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बिहीबार बिहान संक्रमितको पहिचान भएको बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पराजुलीले अस्पतालले बदमासी गरेका कारण प्रहरी र स्वास्थ्यकर्मीले अनावश्यक दुःख पाएको बताए ।
‘परीक्षणका लागि कोही कसैको स्वाब संकलन गर्दा नाम, ठेगाना, सम्पर्क नम्बरदेखि सबै कुरामा ध्यान दिनुपर्ने हो,’ उनले भने, ‘अस्पतालले नै विरामीलाई लुकाउने प्रयास
गर्यो ।’
महानगरको जनस्वास्थ्य टोलीसहित प्रहरीले अस्पताल प्रशासनदेखि ल्याबका पदाधिकारीसहितलाई गरिएको सोधपुछपछि प्रशासनबाट बिहीबार संक्रमित व्यक्तिको नाम र ठेगाना खुलेको महाशाखा प्रमुख कार्कीले बताए । ती संक्रमित पुरुष अस्पतालकै चिकित्सक कर्मचारी रहेको बिराटनगर महानगरपालिकाले जनाएको छ ।
विराटनगरस्थित प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले भने, ‘अस्पतालले नमुना संकलनका क्रममा सबै प्रक्रिया पुर्याएर नदिएकाले अस्पताल कारबाहीको भागिदार रहन्छ ।’ विराट नर्सिङ होमका एक कर्मचारीका अनुसार यसरी पहिचान लुकाउनु हुँदैन थियो । अस्पतालको डाक्टरलाई नै कोरोना संक्रमित भेटियो भनेर हल्ला भयो भने बिरामी नआउने हुन कि भने गुपचुप गर्न खोजेको होलान् ।
नर्सिङ होमबाट संकलित स्वाब नमुनाको परीक्षणमा पोजेटिभ भेटिएसँगै संक्रमित सम्पर्कबाहिर रहेका थिए । महानगर प्रमुख भीम पराजुलीसहित महानगरको टोलीले प्रहरीको सहायतामा बिहीबार बिहानसम्म खोजतलास जारी राखेको थियो । महानगर प्रमुख पराजुलीका अनुसार नमुना स्वाब संकलन गरिएको अस्पतालकै चिकित्सकमा संक्रमण देखिएको हो । मेयर पराजुलीले महानगरमा छलफल भइरहेको र आवश्यक परेको खण्डमा अस्पतालमा आवतजावतमा पूर्णरूपमा रोक लगाउन सकिने बताए ।