इटहरी / सुनसरी दुहबी ८ घर भएकि इटहरी उपमहानगरपालिकामा कार्यरत शाखा अधिकृत सस्मिता लुइँटेलको ठगी धन्दा बाहिर आएको छ । जनताको सेवा गर्ने जिम्मेवारी पाएको कर्मचारीले व्यक्तिगत पहुँच, वाहानाबाजी, सरकारी पद र विश्वासको दुरुपयोग गर्दै सर्वसाधारणको करोडौँ रकम ठगी गरेको पाइएको हो ।
सर्वसाधारणसँग करोडौँ रकम असुलेर सस्मिता फरार भएपछि यति वेला दर्जनौँ पीडितहरू न्यायको खोजीमा इटहरी उपमहानगरपालिका र प्रहरी कार्यालय धाइरहेका छन् ।
झापाको अर्जुनधारा नगरपालिकाबाट सरुवा भएर गत भदौ ६ गते इटहरी आएकी शाखा अधिकृत सस्मिताले वडा नम्बर १७ र २० को सचिवका रूपमा काम गरेकी थिइन् । भदौ ९ गते हाजिर भएसँगै उनले कार्यालयको काममा जनतासँग सहजीकरणको भूमिका खेले पनि त्यो व्यवहार विश्वास आर्जनको माध्यम मात्र भएको खुलेको छ
घरमै पुग्दै बिरामी परेको बहाना बनाएर तत्काल आवश्यकता परेको भन्दै चाँडै फिर्ता गर्ने सर्तमा रकम माग्ने गरेको पीडितहरू बताउँछन् । सरकारी पदको आडमा सर्वसाधारणलाई विश्वासघात गर्दै सस्मिताले छोटो समयमै करोडौँ रकम ठगी गरेको तथ्यहरूबाट पनि पुष्टि हुन्छ ।
जस्तोसुकै नाटक गर्न पछि नहट्ने उनी अहिले फरार छिन् । तर, पीडितहरू उनी विरुद्ध प्रहरी र अदालतसम्म पुगेका छन्
इटहरीका मोहन दंगालको नयाँ व्यवसायका लागि सर्जिमिन गराउनु थियो । थोरबहुत पैसा हातमा थियो । कार्यालयकै कर्मचारीले दुःख पोखेर पैसाको आवश्यकता परेको बताएपछि उनले विश्वास गरेर नै अढाई लाख थमाए । सरकारी कर्मचारीले कसरी ठग्लिन् र ? भन्ने उनलाई लाग्यो । तर, अहिले आफूबाट ठुलो भुल र गल्ती भएको भनेर उनी पछुतो मानिरहेका छन् ।
त्यस्तै, इटहरी लविपुरका व्यवसायी विपिन भट्टराईले सँगै पढेकी सस्मितालाई २४ लाख रुपैयाँ दिएका थिए । ‘खोलाको ठेक्का लिँदै छु, पैसा आउँछ नि’ भनेर आश्वासन दिँदै आफूसँग वडा सचिव सस्मिताले पैसा मागेको विपिन बताउँछन् । तर, अहिले उनी पनि आफू ठगिएको महसुस गरिरहेका छन् ।
सस्मिताले आफ्नो खातामा मात्रै नभएर अरूको खातामा पनि पटक–पटक पैसा हाल्न लगाएको विपिन बताउँछन् । अहिले आफ्नो व्यवहारले आफैँ तनावमा परेको बताउँदै उनले पैसा कसै गर्दा पनि फिर्ता लिन नसकेको गुनासो गरे । भने, ‘अहिले धेरै तनावमा छु । विश्वास गरेर पैसा दिएँ । अहिले ठगिएको थाहा भयो ।’
वडा कार्यालयमा सचिव हुँदा समेत एकपछि अर्को दुःख बिलौना सुनी सरकारी कर्मचारीको विश्वास गरेर पैसा दिएकाहरू अहिले सस्मिता नै सम्पर्कविहीन भएपछि पैसा फिर्ताका लाग विभिन्न निकायमा धाइरहेका छन् ।
सरकारी कर्मचारी, व्यापारी र सर्वसाधारणसम्मै ठगिए
सस्मिताबाट ठगिएका पीडितहरूको सूची निक्कै लामो छ । उनले बुनेको ठगीको जालोमा सरकारी कर्मचारी, सहकर्मी, इटहरीका व्यवसायी र सर्वसाधारणसम्म परेका हुन् । सस्मितालाई विश्वास गर्नेहरू नै प्रायः ठगिएका छन् । उनले कतिपयलाई व्यवसायमा समेत लगानी गरिदिने प्रलोभन पारेकी थिइन् । उनका निशानामा खास गरी घर निर्माण तयारीमा रहेका सर्वसाधारण, व्यवसायी र आफ्नै सहकर्मी कर्मचारीसमेत परेको देखिएको छ ।

स्वास्थ्य चौकी खनारमा कार्यरत नै रहेका सहकर्मी विकास पौडेलसँग उनले ४ लाख ५० हजार लिइन् । विकासको विश्वास जित्न उनले तत्काल चेक दिइन् । तर, अनेक बहाना बनाएर विकाससँग राम्रै रकम फुत्काएकी सस्मिताको खातामा पैसा भने छैन । चेकमा उल्लेख भए अनुसारको पैसा नभएपछि उनी पनि सर्वसाधारणजस्तै पीडामा परेका छन् ।
सस्मिताबाट ठगिएको भनेर अहिले कानुनी उपचारका लागि प्रहरी कार्यालय धाइरहेका पीडितमध्येका विकास पनि एक हुन् । उनीबाट ठगिएकाहरू न्यायका लागि प्रहरी र अदालतको ढोका ढकढक्याइरहेका छन् ।
पीडितहरूका अनुसार विश्वास दिलाएर पैसा फुत्काउन सफल भएकी सस्मिताले पैसा लिने र चेक दिने समेत गर्थिन् । पैसा लिएर उनले थमाएका सम्पूर्ण चेकहरू अहिले ‘बाउन्स’को प्रक्रियामा छन् । एक स्थानीय भन्छन्,‘आफ्नो नामको चेक त भई नै हाल्यो । कतिपयलाई त चेक पनि अरूकै नामको दिएको पाइयो । कर्मचारी नै भएपछि मानिस विश्वासमा परे र सजिलैसँग पैसा फुत्काउन सकिन् ।’

इटहरी उपमहानगरपालिकाको कर्मचारी प्रशासन शाखा प्रमुख दीपक पौडेलले सस्मिताबाट ठगिएको भनेर धेरै गुनासो आइरहेको बताए । गुनासो गर्नेको सङ्ख्या सयभन्दा बढी रहेको उनको भनाइ छ । ‘हामीकहाँ आएका गुनासोहरू सय नाघिसकेका छन् । कसैले ५ लाख गुमाए, कसैले ५० लाख । एक जनाले त १ करोड गुमाएको भन्नु भएको छ,’ दीपक भन्छन् ।
उनले सस्मितासँग जोडिएको प्रकरण व्यक्तिगत लेनदेन भएको देखिएको बताए । ‘यो व्यक्तिगत लेनदेन हो,’ उनले भने, ‘कार्यालयको कामका लागि अतिरिक्त रकम लिएको भन्ने प्रकृतिको चैँ देखिएको छैन ।’
चतुर ठग : फिल्डमा हाजिर, फोनमा नाटक
स्रोतका अनुसार सस्मिताले कार्यालयमा नम्र व्यवहार, फिल्ड भ्रमणमा सक्रियता र सहकर्मीसँग सुमधुर सम्बन्ध बनाउँदै विश्वास जित्ने काम गरिन् । ‘बिरामी परेको नाटक र आपत् परेको अभिनय गर्ने तथा नाफाको सपना देखाउँदै साझेदार बनाउनेजस्ता आश्वासन बाँडेर पैसा बटुल्थिन्,’ सस्मितालाई नजिकबाट चिन्नेहरू भन्छन् ।
विशेषतः घर बनाउँदै गरेका सर्वसाधारण, ऋण खोज्दै गरेका व्यवसायी र सरकारी कर्मचारीहरू नै निशानामा परेकाले पनि यसको पुष्टि हुन्छ । अर्कोतर्फ पैसा लगेर फिर्ता नगर्ने गरेको गुनासो बढेपछि नै गत माघ ९ मा वडा कार्यालयको सचिवमा हाजिर हुन पुगेकी उनलाई फागुन २० गते नै वडा सचिवबाट हटाएर उपमहानगरपालिकामा तानिएको अवस्था रहेको छ ।
निजामती कर्मचारीको छैटौँ अधिकृतका रूपमा रहेकी सस्मिता इटहरी उपमहानगरपालिकाको कार्यालयगत विवरण अनुसार हाल अतिरिक्त समूहमा रहेर काम गरिरहेको देखिन्छ ।
अदालत पुगे पीडित, प्रहरीले गर्दैछ अनुसन्धान
पीडितहरू न्याय माग्दै अदालतसम्म पुगेका छन् । अदालतले सस्मिताको तीन पुस्ते विवरण मागेको छ । तर, उपमहानगरपालिकाले अदालतलाई दिन सकेको छैन ।
यो समाचार प्रदेश खबर बाट साभार गरेका हुन।





