सुनसरी / सुनसरीको बर्जु गाउँपालिकाका कर्मचारीहरुले आफूहरू असुरक्षित भएको गुनासो गरेका छन् ।
बर्जुका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई सम्बोधन गर्दै मंगलबार बर्जु गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय अमाहीवेल्हामा ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा भनिएको छ,“२०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०ः४५ बजेको समयमा कर्मचारी बैठकका लागि उपस्थित भएका गाउँपालिकाका पुर्वाधार शाखा प्रमुख (ईन्जिनियर) रोशन गुप्तालाई बर्जु गाउँपालिका वडा नं.६ निवासी श्रवण कुमार चौधरीले अभद्र व्यवहार गरेकोले असुरक्षित भएका छौं । “
ज्ञापनपत्रमा बर्जु प्रशासन शाखामा कर्मचारीको बैठक बसीरहेको समयमा एक्कासी प्रवेश गरी “मलाई चिन्छस म को हो ?’ भन्दै गाली गलौच गरेको कुटपिट गरुला झै गरी जाइ लागेको साथै लेखा शाखामा गई लेखा प्रमुखलाई समेत हप्की दप्की गरेको र १९ गते समेत निजले प्रमुख प्रशासकीय अधिकृत, विपद व्यवस्थापन शाखा प्रमुख, योजना शाखा प्रमुख लगायत सम्पुर्ण कर्मचारीहरुलाई अपमानजनक शब्द प्रयोग गरी गाली गलौच गरेको हुँदा सम्पुर्ण कर्मचारीको काम गर्ने मनोवल खस्किएको र सार्वजनिक सेवा प्रवाहमा ऐन, कानुन, एवम नियमको परिधिमा रही अहोरात्र आफ्नो कर्तव्य निर्वाह गरिरहेको राष्ट्रसेवक कर्मचारी माथि कार्यस्थलमा अमानवीय व्यवहार एवम घटनाको घोर भत्सर्ना एवम् निन्दा गर्दै अविलम्व सत्यतथ्य छानविन गर्दै दोषी उपर कडा भन्दा कडा कार्बाहीको लागि जोडदार माग गर्दछौं, भनिएको छ ।
पीडित गुप्ताले गरेको गुनासो प्रति सबै कर्मचारीले बुझाएको ज्ञापनपत्रमार्फत यस किसिमका घटना र प्रवृतिहरु बारम्बार कर्मचारी माथि दोहरी रहँदा सम्पूर्ण कर्मचारीहरु असुरक्षित महशुस गरी सुरक्षाको प्रत्याभुती नभएसम्म कार्यालयमा बसी कामकाज गर्न नसकिने अवस्था रहेकोले तत्काल सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टाभित्र सहज र सरल ढंगबाट सम्पुर्ण कर्मचारीहरुलाई काम गर्ने वातावरण सृजना गरियोस । अन्यथा चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने चेतावनी दिइएको छ । “
ज्ञापनपत्रमा बर्जु गाउँपालिकामा कार्यरत सम्पुर्ण कर्मचारी परिवारले संयुक्त हस्ताक्षर गरेका छन । उक्त ज्ञापनपत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय, सुनसरी, बर्जुका उपाध्यक्ष, वडा अध्यक्षहरुलाई दिएको छ ।




