सुनसरीको दुहबी नगरपालिकाले पिसिआर परिक्षणको दायरा बढाउँदै लगेको छ । हाल सम्म १०५२ जनाको पिसिआर टेस्ट भएको दुहबी नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक उचितनारायण साहले जानकारि दिएका छन ।
साउन १५ गतेदेखि समुदाय स्तरमा दुहबी नगरपालिकाले कोरोना भाइरसको पिसिआर परिक्षणकालागि स्वाब संकलन सुरु गरेको हो । साउन १५ गते ५५ जनाको समुदाय स्तरमा पिसिआर जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ थियो भने साउन १८ गते ५२ जनाको पिसिआर जाँच गर्दा दुहबी नगरपालिकाका एक कर्मचारी सहित दुहबी वडा नम्बर ४ र ५ का ३ जना कोरोना संक्रमित देखिएका थिए ।
साउन २० गते ५० जनाको स्वाब संकलन गरि पिसिआर जाँच गर्दा दुहबी नगरपालिकाका दुइ कर्मचारी सहित ४ जनामा कोरोना संक्रमण देखिएको थियो । उनिहरु दुहबी वडा नम्बर १ का एक जना दुहबी वडा नम्बर ४ का २ जना र दुहबी वडा नम्वर ६ का एक जना रहेका छन । हिजो १ सय २ जना र आज २ सय १८ जना औद्योगिक करिडोरका मजदुरहरुको स्वाब संकलन गरिएको छ । यस अघि दुहबीको २ वटा क्वारेन्टाइनबाट ५ सय ७५ जनाको स्वाब संकलन गरिएकोमा दुहबी वडा नम्बर १२ पूर्व कुसाहाका एक जनामा कोरोना संक्रमण देखिएको थियो हाल उनि निको भएर घर फर्की सकेका छन ।





