मोरङ/ प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ। नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको हो। राईविरुद्ध नेकपाकै ३७ जना प्रदेशसभा सदस्यले पुस १२ गतेअविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
अविश्वास प्रस्ताव पेश भएको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु र मुख्यमन्त्री निकट सांसदहरु भने अनुपस्थित रहे । प्रस्ताव खारेज गर्नुपर्ने वा आफूले कार्वाही गरेका सांसदहरुलाई प्रदेशसभामा प्रवेश नदिनुपर्ने माग गर्दै सरकारी पक्षले गत माघ २५ गतेको बैठक अबरुद्ध गरेको थियो । आइतबारको बैठक पनि रोक्न मुख्यमन्त्री राईले सभामुख प्रदिपकुमार भण्डारीलाई दबाब दिएका थिए । बैठकअघि मुख्यमन्त्री राईले सभामुखलाई पत्र पठाएर अविश्वासको प्रस्तावलाई कार्यसूचीमा नराख्न र बैठक स्थगित गर्न माग गर्नुभएको थियो ।
तर, सभामुख प्रदीपकुमार भण्डारीले ढिलो गरि भएपनि बैठक राखे निर्णय गरेपछि अविश्वास प्रस्ताव प्रक्रियामा गएको हो । सत्तापक्षले बहिष्कार गरेको बैठकमा अविश्वासको प्रस्ताव पेश भएसँगै सभामुख भण्डारीले अर्को बैठक फागुन २० गते बस्नेगरी तोकेका छन ।





