विराटनगर / सार्वजानिक यातायात खुलेसँगै सीमा पार जोगबनी बजारमा पुगेर दैनिक उपभोग्य सामाग्री खरिद गरेर नेपाल फर्कनेहरुको लर्को लाग्न थालेको छ । लकडाउन घोषणासँगै चैत ११ गतेयता भारतसँगको खुल्ला सीमा सिल गरिएको छ ।
सरकारले वैधानिक रुपमा तोकेको नाकालाई समेत छल्दै नेपाली उपभोक्ता सीमापार जोगबनी बजारसम्म आउजाउ गर्न थालेका हुन् ।
सीमा बसेका प्रहरीको समेत आँखा छलेर विराटनगर हुँदै सीमापार बजार जोगबनी पुग्ने गरिएपछि फर्कनेहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्ने तयारी समेत सुरु गरिएको छ ।
प्रहरीले सीमापार जोगबनी पुगेर सामान खरिद गरेर आउनेलाई भेट्टाएमा १४ दिनसम्म सीमा क्षेत्रकै क्वारेन्टाइनमा राख्ने भएको हो ।
प्रहरीको आँखा भारतीय बजार पुग्ने र सामान खरिद गरिसकेपछि नेपाल फर्कनेहरुलाई क्वारेन्टाइनमा राख्न थालिएको छ ।
सरकारले प्रदेश १ का अन्तर्गतको मोरङ रानी, सुनसरीको भन्टावरी, झापाको काकरभिट्टा र इलामको पशुपतीनगर नाकाबाट मात्र आवतजावत गर्ने स्वीकृति दिइएको छ । यी नाका प्रयोग गर्न समेत स्थानीय प्रशासनको सिफारिस अनिवार्य छ ।
सरकारले तोकेको नाका बाहेक सुरक्षाकर्मीको आँखा छल्दै आवतजावत गर्नेलाई दुई साता क्वारेन्टाइनमा राखिने मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताउनुभयो ।
भारतसँग सिमा जोडिएको मोरङमा ६३ किलोमिटर रहेको छ जसमा ३६ वटा नाका छन् । चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्यदेखि विभिन्न सामाग्री खरिद गर्न उपभोक्ताहरू भारतीय सिमावर्ती बजार जाने क्रममा बढेको छ ।
भारतमा तिब्र रुपमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा पनि नेपालीहरू भने जोगबनी जान थालेका हुन् । संक्रमणको जोखिम अझै धेरै हुनसक्ने भएकोले किनमेलमा गएर फर्कनेहरुलाई अनिवार्य क्वारेन्टाइनमा राखिने भएको हो ।
प्रमुख जिल्ला अधिकारी निरौलाले स्थानीय तहले बनाएको क्वारेन्टाइनमा दुई साता राखेपछि पीसीआर परीक्षणपछि रिपोट नेभेटिभ आए घर जान दिइने बताउनुभयो ।