जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार ३१ गते । सुनसरीमा असारसम्म भेटिएका १ सय २ जना कोरोना संक्रमित मध्ये ८८ जना निको भएका छन् । जिल्लामा स्वाब संकलन गरिएका मध्येबाट पोजेटिभ भेटिएका संक्रमित १ सय २ जना मध्ये ८८ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार पछिल्लो अवस्था सम्ममा बाहिरी जिल्लामा स्वाब संकलन गरिएको ३ जना समेत सुनसरीका १ सय ५ जना संक्रमित भेटिएका छन् ।
सुनसरीमा अब थप भएका एकजना सहित कोरोना पोजेटिभ भेटिएका मध्ये धरान, इटहरी, रामधुनी र बर्जुका गरी १४ जना उपचारको क्रममा छन् । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार उनीहरु सबैको अवस्था सामान्य छ । सुनसरीमा सबैभन्दा बढी भोक्राहामा १९ जना संक्रमित भेटिएका थिए । सबैभन्दा कम दुहबी नगरपालिकामा १ जना कोरोना पोजेटिभ पाइएका हुन् ।
स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङक अनुसार जिल्लामा सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको छ । त्यसपछि दोस्रो नम्बरमा ११ देखि २० वर्ष उमेर समूह रहेको छ । यहाँ ६१ वर्ष भन्दा माथि कोरोना संक्रमित भेटिएको संख्या २ मात्र
छ ।
सुनसरीमा अहिले सम्म ५ हजार १ सय ८४ जनाको पिसिआर परिक्षण गरिएको छ । जसमध्ये १ सय २ जना पोजेटिभ भेटिएका छन् । संक्रमित मध्ये पुरुषको संख्या ८४ छ । महिला भने १८ जना रहेका छन् । स्वास्थ्य कार्यालय सुनसरीकी कोरोना फोकल पर्सन सृजना लिन्थेपका अनुसार सुनसरीमा २ हजार १ सय ७८ जनाको आरडिटी टेस्ट गरिएको छ ।
पछिल्लो अवस्था सम्ममा १ सय ४ जना संक्रमितको आधारमा जिल्ला भित्र र बाहिरको गरी ५ सय २० जनाको कन्ट्याक ट्रेसिङ गरिएको उहाँले बताउनुभयो ।
स्वास्थ्य कार्यालय सुनसरीले आयोजना गरेको जिल्ला समिक्षा कार्यक्रममा सो विवरण सार्वजनिक गरिएको थियो । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार सुनसरीमा स्वाब संकलनका क्रममा कोरोना भाइरस संक्रमित पाइएकाहरु भारत लगायतका मुलुकबाट घर फर्किएका व्यक्तिहरु हुन् । उनीहरु सबै क्वारेन्टिनमा रहेकाहरु हुन् । स्वास्थ्य प्रमुख प्रसाईका अनुसार सुनसरीमा कोरोना समुदायमा भेटिएको छैन् ।